अमेरिकामा २४ घण्टामै गयो २१ सयको ज्यान, विश्वभरमा मृत्यु हुने सङ्ख्या एक लाख नाघ्यो

अमेरिकामा २४ घण्टामै गयो २१ सयको ज्यान, विश्वभरमा मृत्यु हुने सङ्ख्या एक लाख नाघ्यो


कोरोना भाइरसको सङ्क्रमणबाट एक दिनमै दुई हजारभन्दा बढि मानिसको मृत्यु हुने अमेरिका पहिलो देश बन्न पुगेको छ । अमेरिकामा २४ घण्टाभित्र २,१०८ जनाको मृत्यु भएको छ ।

जे.एच. युनिभर्सिटीले जनाएअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ‘कोभिड–१९’का कारण उल्लिखित सङ्ख्यामा मानिसको मृत्यु भएको हो ।

बताइएअनुसार यतिबेला अमेरिकामा पाँच लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित हुन पुगेका छन् । हालसम्म कोरोनाको कारण इटालीमा सबभन्दा धेरै मानिसको ज्यान गएको भए पनि यदि यस्तै अवस्था रहने हो भने अमेरिकाले इटालीलाई छिट्टै उछिन्न सक्ने बताइएको छ ।

तथापि, ह्वाइट हाउसको ‘कोभिड–१९ टास्क फोर्स’ले जनाएअनुसार अमेरिकामा सङ्क्रमणको अवस्था स्थिर हुन पुगेको छ र यसबाट अब मृत्यु हुने सङ्ख्यामा पनि कमी आउने छ ।

ज्ञातव्य छ, अमेरिकामा अहिलेसम्ममा १८,६९३ मानिसको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ५,००,३९९ व्यक्ति सङ्क्रमित भएका छन् । इटालीमा मृत्यु हुनेको सङ्ख्या १८, ८४९ रहेको छ ।

कोरोनाका कारण विश्वभरमा आजको मिति (११ अप्रिल) सम्ममा मृत्यु हुनेको सङ्ख्या १,०२,०२६ (एक लाख दुई हजार छब्बिस) पुगेको जेएच युनिभर्सिटीले जनाएको छ ।