विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ । विश्व महाशक्ति अमेरिका स्वयम् यसको चर्को मारमा परेको छ । तर, यस भयावह महामारीकै बीच अमेरिकीहरू बीच नयाँ क्रेज देखिएको छ, अर्थात् उनीहरू यतिबेला हतियारको जोडजाम गर्न हात धोएर लागिपरेका छन् ।
गत मार्च महिनाभित्र मात्र अमेरिकामा १९ लाख थान बन्दुक बिक्री भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०१३ मा स्यान्डीहुक प्राइमरी स्कूलमा गोलीबारी भई थुप्रै बालबालिकाको दर्दनाक हत्या भएको घटनालगत्तै अमेरिकीहरूले यसैगरी भारी मात्रामा हतियार खरिद गरेका थिए । तर, यसपटक त्योभन्दा पनि ज्यादा बन्दूक एवम् अन्य घरेलु हातहतियार खरिद गरिएको छ ।
यसरी कोरोनाको त्रासबीच बन्दुकको जोगाड गर्नुमा नागरिकहरूमा बढेको भयले काम गरेको एजेन्सीहरू बताउँछन् । कोरोना भाइरसका कारण आर्थिक मन्दी आउने र त्यस अवस्थामा बाँच्नका लागि लुटपाट मच्चिन सक्ने त्रास अमेरिकीहरूमा बढेको बताइन्छ । मानिसहरू अराजक हुन सक्ने र जथाभावी घर–घर प्रवेश गरी लुट्न सक्ने पूर्वानुमानका आधारमा बन्दुकको बन्दोबस्त गर्ने ‘क्रेज’ त्यहाँ बढेको हो ।
अमेरिकामा बढेको महामारीका कारण नागरिकको मनमा अनिश्चितताले घर गरेको र उनीहरूको दिमागी अवस्था निकै प्रभावित भएको विश्लेषकहरूको भनाई छ । नागरिक असन्तुष्टिका कारण अनिश्चितता बढ्ने र त्यस्तो बेला सरकारी मेसिनरीले सहयोग गर्न नसक्ने ठहर गरेर नै मानिसहरूले हतियारको बन्दोबस्ती गरेका हुन् । युटाहा र मिशिगन जस्ता राज्यमा अन्यत्रको तुलनामा तीन गुणा ज्यादा हतियार खरिद–बिक्री भएको एजेन्सीहरूले जनाएका छन् ।
प्रतिक्रिया