खोल्यौँ आफैले कोरोनाको बाटो

खोल्यौँ आफैले कोरोनाको बाटो


■ भरतप्रसाद भण्डारी (गोकर्णेश्वरं)

०४६ पछि प्रशासन ध्वस्त बनायौँ
किन पार्टी–पार्टीको युनियन बनायौँ ?

विदेशी सहयोगका उद्योग निजीकरण गरायौंँ
जनकपुर चुरोट कारखाना क्वाप्प खायौँ
चिनी, कृषि औजार, कपडा र जुत्ता कारखाना खायौँ
अनि दिनदिनै जनतालाई बेरोजगार बनायौँ !

जापानले दिएको साझा बस धुलोपिठो बनायौँ
साझामा संलग्नलाई करोडपति तुल्यायौँ
चीनले दिएको विद्युतीय ट्रलीबस पचायौँ
भृकुटी कागज, कपडा, जुत्ता कारखाना सिध्यायौँ
पौरख गरी–गरी रोजगारलाई बेरोजगार बनायौँ !

०३० सालमा हामीले धान–चामल निर्यात कम्पनी खोल्यौँ
दुई तिहाईको सरकार आईपुग्दासम्म आयात कम्पनी पो झेल्यौँ
अनि यस्तै कामले राजश्व बढेको फुटानी लगायौँ
दुई तिहाईका श्रममन्त्रीले विदेशीसँग
श्रम–सम्झौता गरेको फुर्तिलो भाषण पायौँ,
अर्थमन्त्रीले बजेटमा रेमिट्यान्सको भाग छुट्याएको पायौँ
सुरक्षित श्रम–सम्झौतामा गएका कैयनका लाशको बाक्सा देख्न पायौँ !

विदेशमा फैलिएको कोरोनाबाट त्रस्त दाजुभाइ
जब बाँच्नका लागि बाध्य भई स्वदेश फर्किए
जब गाउँ पुगेको दाजुभाइलाई कोरोना लाग्यो
अनि निदाएको सरकार झल्यास्स ब्युँझियो !

यतिबेला सरकारको लकडाउनमा आफै परेको छु
आफ्नै घर आफैले जेल सम्झी बसेको छु,
तपाईंहरू पनि त्यसै गर्नुहोस अनुरोध गर्छु
अरु रोगको औपधि उपचार नपाई मरे प्रारब्ध भन्छु !

(७३ वर्षीय जेष्ठ नागरिकको भावना)