भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी

भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी


कोरोना भाइरसको सङ्क्रमण भारतका विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार (११ अप्रिल) वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका बताइएको छ ।

सम्मेलनमा प्रधानमन्त्रीले लकडाउन बढाउनु पर्ने वा नपर्ने भन्ने बारेमा कुराकानी गरेका बताइएको छ । सरकारले तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतबारसम्म नयाँ घोषणा गर्नसक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले लकडाउन गर्नेे ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको एक भारतीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भने, ‘प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।’

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मङ््गलबार (१४ अप्रिल) सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए ।

दुई राज्य ओडिशा र पञ्जाबले पहिले नै थप करिब दुई हप्ता तालाबन्दी गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् । आलोचकहरूले सङ्क्रमणलाई नियन्त्रणमा राख्न देशव्यापी बन्दाबन्दीको आवश्यक भएको बताएका छन् ।

भारतमा अहिलेसम्म करीव सात हजार ५०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र २४० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट गरेका छन् । सरकारले कुनै पनि समुदायमा महामारीका रूपमा सङ्क्रमण नफैलिएको बताएको छ ।

गत तीन हप्तामा लाखौं मानिसहरूको रोजगारी गुमेको छ लकडाउनका कारण कतिपय क्षेत्रमा श्रमिकहरू पैदल हिँडेर लामो दूरीको यात्रा गर्दै आफ्नो गाउँतिर गइरहेका भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भिडियोहरू सार्वजनिक भएका छन् ।