गर्ज गर्ज क्षणम् मूढ

गर्ज गर्ज क्षणम् मूढ


– दामोदर ‘बटुवा’

यौटा सुक्ष्म जीवाणुको क्रुर आतङ्कमा परि ।
निरीह भै बसेको छ आज मान्छे कठैबरी ।।

एटम बमको ध्वाँस दिई विश्व थर्काउने पनि ।
लोती झारी बसेका छन् नुन खा’को कुखुरा सरी ।।

न यो आकाशमा उड्ने नत गुड्ने जमिनमा ।
तैपनि विश्वमा फैलियो अनियन्त्रित भई कन ।।

सुनसान भएका छन् सारा बस्ती शहरहरू ।
कैद छन् घरभित्र सब छैन उपाय क्यै अरु ।।

पौँठे जोरी नखेल्नु है भन्दथे प्रकृति सँग ।
त्यसैको प्रतिफल हो यो जे रोप्यो त्यहि फल्दछ ।।

दाइँ मार्ने पशु जस्तै मोकारो लगाइ मुखमा ।
बस्नु पर्ने भयो आज कस्तो हो यो विडम्बना ।।

संक्रमित लाखौँ अनि मर्ने सवा लाख रे ।
न आफन्त, मलामी छन् मृत्यु कस्तो विभत्स रे ।।

मठ, मन्दिर खाली छन् सारा दैनिकी सब ठप्प छ ।
कति कमजोर मानिस यस्तोसम्म हुँदो र’छ ।।

संघर्षमय जीवन यो राखौँ उच्च मनोबल ।
भोली क्षितिज उघ्रिन्छ हुन्छ आकाश झलमल ।।

मानव दानवको बीचमा जति युद्ध भए यहाँ ।
मानवले नै जितेको छ अंकित छ इतिहासमा ।।

गर्ज–गर्ज क्षणम् मूढ कोरोनारुपी दानव ।
केही क्षणको गर्जना हो यो हार तेरो सुनिश्चित ।।

०७७ वैशाख १, जोरपाटी