भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको छ । गएको २४ घन्टा (१२-१३ अप्रिल) यता ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको छ ।
सोमबार (१३ अप्रिल) बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’का संक्रमितहरु ९ हजार १५२ जना पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले दिएको जानकारी अनुसार पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । सोमबार पनि यो क्रम जारी नै रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३५ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३०८ पुगेको छ ।
महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ९८५ जना पुगेको सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।
महाराष्ट्रमा मात्र १४९ जनाको ज्यान गएको बताइएको छ । यहाँका २१७ जना उपचारपछि घर फर्किएका छन् । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरुमध्ये ८५७ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ८ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।
महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार १५४ जना संक्रमित रहेका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी तमिलनाडु राज्यमा छन् । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या सोमबार बिहानसम्म १ हजार ७५ जना पुगेको छ । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् ।
प्रतिक्रिया