अहिलेका सबै वाद देखिए बेकार-वसन्तराज कुँवर

अहिलेका सबै वाद देखिए बेकार-वसन्तराज कुँवर


नार्कोनन् नेपालमा उपचारमा बसेका विद्यार्थीलाई मैले पानी खुवाउन सकिनँ । सरकार यो मुलुकमा केवल मन्त्री र प्रधानमन्त्रीहरूका लागि मात्र छ । दुनियाँले आफ्नो सुरक्षा आफैं गर्ने मात्र होइन आफ्नो पानी र बिजुली पनि आफैं व्यवस्था गर्नुपर्ने अवस्था छ । कर लिन र महसुल तिराउन भने सरकार सक्रिय देखिन्छ । सायद यस विषयमा सरकारको रुचि आफ्नै भत्ता व्यवस्था गर्न र करोडौं पर्ने गाडीहरू आफ्नै लागि किन्न पनि भएको हुन सक्छ । संसारमा जनताप्रति गैरजिम्मेवार सरकारको सूची-भित्र यो नेपालको सरकार पनि माथिल्लो श्रेणीमै पर्ने निश्चित छ ।
जब सरकारको चाला बुझियो नार्कोनन्का विद्यार्थीलाई पानी खुवाउन इनार खन्ने विकल्प मैले आफैंले सोचेँ । पानी नआउने धाराको पैसा तिर्न भने मान्छे पठाइनै रहेँ । इनार खन्न केही मजदुरहरू आए जसमध्ये एक सिन्धुलीतर्फका थिए र एक बारातिरका रहेछन् । उनीहरूले इनार खन्ने दिनदेखि नै माओवादीको आमहडताल भयो । इनार खन्दै जाँदा पहिल्यै दिनमा ढुङ्गा आयो र ढुङ्गा काट्न छिनो आवश्यक भयो । उनीहरूले आमहडतालका कारण छिनो किन्न र खोज्न सकेनन् किनकि सबै पसल बन्द थिए । त्यस दिन उनीहरू आधा दिन मात्र काममा रहे । भोलिपल्ट पनि उनीहरूले छिनो किन्न सकेनन् । त्यस दिन उनीहरूको खाने पैसा पनि रहेनछ । तेस्रो दिन पनि उनीहरूले छिनो किन्न पाएनन् र बेरोजगार रहे । उनीहरूलाई मैले नार्कोनन् केन्द्रमै खाना खाने व्यवस्था मिलाइदिएँ नत्र भोखै पर्ने देखेँ । चौथो दिन पनि उनीहरूले छिनो व्यवस्था गर्न सकेनन् । ठेकेदारले खाल्डो खनेको आधारमा मात्र पैसा दिने रहेछन् । उनीहरू खाल्डो खन्न असमर्थ थिए । चौथो दिनतिर उनीहरू चौरमा सुती एक-अर्कासँग कुरा गरिरहेको अवस्थामा मैले देखेँ । पहाडतिरको श्रमिकले तराईतिरकोलाई भन्यो, ‘भाइ माओवादी आएपछि के-के न हुन्छ भन्थे, खोइ झन् भोकै मर्नुपर्ने भयो ।’ तराईवालाले भन्यो, ‘बहुतै दु:ख भएको छ हामी गरिबहरूलाई । कामै गर्न नपाएपछि कसरी खाने । नेताहरूलाई त भत्ता आइहाल्छ, हामी गरिबहरू कसरी बाँच्ने…-‘
उनीहरूबीचको संवाद जुन मैले सुने त्यो पीडादायी नै थियो । मलाई पनि विद्यार्थीलाई पानी खुवाउन नसकेको आफ्नै पीडा थियो । जति सक्यो छिटो इनार खनिए मेरा विद्यार्थीले राम्ररी पानी खान पाउँथेँ भन्ने मेरो सरोकार थियो । आमहडतालले हामीलाई आ-आफ्नै प्रकारका पीडा दिइरहेको थियो । ती श्रमिकले बेलुका छाक टार्न आवश्यक पर्ने रकमको जोगाड गर्न नसकेका र मेरा विद्यार्थीले पानी पिउन नपाएको पीडा सायद सुशील कोइराला, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल वा प्रचण्ड कमरेडका लागि सानाभन्दा साना नगन्य विषय होलान् तर तिनका लागि भने भयानक पीडा भएर उभिएको थियो । त्यस दिन ती श्रमिकहरूको कुराको निष्कर्ष यही थियो कि उनीहरूले माओवादी पार्टी आएपछि आफ्नो जीवनमा ठूलै परिवर्तन आउने सोचेका रहेछन् तर अहिले उनीहरूलाई त्यो कुरो झुटो लागेछ । एउटा छिनो किन्न नपाउनुले उनीहरूको जीवनमा माओवादी पार्टीप्रति नकारात्मक सोच बढाइरहेको थियो ।
त्यस दिन मैले बुझेँ राज्य चलाएर नेताहरू हुन खोज्ने व्यक्तिहरूले यो कुरा पनि बुझ्नुपर्छ कि सबैलाई प्रधानमन्त्री, मन्त्री, पार्टी, अध्यक्ष वा पद चाहिएको हुँदैन बरु कसै कसैलाई केवल छिनो मात्र चाहिएको हुन्छ । यो मुलुकमा झन्डै तीन करोड मानिसहरू छन्, तीमध्ये माधव नेपाल, प्रचण्ड, शेरबहादुर, रामचन्द्र, झलनाथजस्ता औंलामा गन्न सकिनेहरूलाई मात्र प्रधानमन्त्री मन्त्री चाहिएको होला तर अरू करोडौं मान्छेलाई छिनो, स्कुल, कलेज, स्वतन्त्र आवागमन, सुरक्षित वातावरण, उद्योगधन्दा, पानी, तरकारी र खाद्यान्न चाहिएको छ । दुर्भाग्य के देखिन्छ भने ती हातका औंलामा गन्न सकिने प्रधानमन्त्री हुन चाहनेहरूले करोडौँ जनता जो प्रधानमन्त्रीका दाबेदार पनि होइनन् तिनका जीवन अस्तव्यस्त पार्दै आएका छन् । कसरी उनीहरूले आफ्ना स्वार्थका लागि करोडौँ निर्दोष नेपालीको जीवन अस्तव्यस्त पार्न सक्तछन् भन्ने ज्युँदो नमुना भर्खरकै आमहडतालबाट पनि नेपालमा देखियो ।
मलाई लाग्छ हामी नेपालीले पनि अब बुझ्नुपर्छ कि हामीहरूले कसैलाई मन्त्री वा प्रधानमन्त्री बनाउने वा टिकाउने खेलमा आफूलाई भोकै, प्यासै र बेरोजगार राख्नुहुँदैन । जनताको नाम लिएर जनतालाई भोकै राख्ने अवस्था सिर्जना गर्ने, देशको नाम लिएर विदेशको इसारामा चल्ने, विकासको नाम लिएर उद्योग, कलकारखाना बन्द गराउने र शान्तिको नाम लिएर जनताको मौलिक अधिकारमाथि जबर्जस्ती बन्देज लगाई टाउका-टाउकामा लट्ठी बजाउने, संविधान निर्माण गर्ने नाम लिएर संविधानसभा बस्न नदिने वा सहमति हुन नदिने र सुन्दर नेपालको नाम लिएर छिनोसम्म किन्न नदिई भोकभोकै मानिसलाई बाँच्न बाध्य बनाउने यस्ता नेताको काइते शब्द र जालमा अब नेपाली पर्न हुँदैन ।
यो मुलुकमा राजा थिए उनलाई काङ्ग्रेस मन परेन । काङ्ग्रेस आए तिनलाई एमाले भएन । एमाले काङ्ग्रेस आए तिनलाई माओवादी भएन । माओवादी आए तिनलाई तराईका दल भएन । फेरि राजा आए कसैलाई भएन । फेरि राजा गए अरूलाई माओवादी भएन । झन्डै ६० वर्षदेखि यही प्रक्रिया चलिआएको छ । जनता केवल तिनका स्वार्थका लागि पीडित भई नै रहेका छन् । ती राजनीतिक दलहरूको स्वार्थ पूरा गर्दागर्दै सिङ्गो नेपाल नै टुक्रा-टुक्रामा विभाजन हुने दो साँधमा पुगेको छ । भाइभाइ भएर बसेका नेपालीलाई जातजाति, वर्णवर्णमा विभाजन गरिएको छ । सुखदु:खमा साथ दिएर बसेका नेपालीलाई अनेकौं झन्डा बोकाई एक-अर्कालाई मार्न तयार बनाइएको छ । द्रुतगतिले चलेका उद्योग व्यवसाय ठप्प पारी नेपाली नागरिकलाई दलालको चङ्गुलमा पारी खाडी मुलुकहरूमा शौचालय सोर्न बाध्य बनाइएको छ । बडो राम्रोसँग चलेको कर्मचारी तन्त्रलाई ध्वस्त बनाइएको छ । भ्रष्टचारसँग घृणा गर्ने समाजलाई भ्रष्टचारमय बनाइएको छ । रातको १२ बजेसम्म पर्यटकहरू घुमेर कुनै पनि डाँडापाखा र नदीका किनारमा सुत्न सक्ने वातावरण बिगारी साँझमै उनीहरूलाई लुट्ने मात्र होइन विमानस्थलसम्म पैदल हिँडेर जान बाध्य बनाइएको छ । आखिर यो स्थितिमा यो नेपाललाई पुर्‍याउनेहरू केवल अहिलेका र पहिलेका प्रधानमन्त्री हुन चाहने नालायक व्यक्तिहरूकै जमात नै हो । तिनले नेपाल र नेपालीका लागि कुनै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कल्पना गरेनन्, तिनले भारत र चीनको बीचमा दुवै देशबाट फाइदा लिएर आर्थिक उन्नति गर्ने कुनै रणनीति बनाएनन्, तिनले अनुशासित मुलुक बनाउन कुनै योगदान दिएनन् । तिनले दिएको योगदान भनेको चक्काजाम, आन्दोलन, हडताल यस्तै-यस्तै मात्र रह्यो । तिनलाई प्रधानमन्त्री बनाउने क्रममा हामीहरू भने गरिबभन्दा गरिब हुँदै गयौँ ।
त्यसैले जब त्यस दिन इनार खन्न छिनो किन्न नपाएर भोकै बसेको श्रमिक मैले देखेँ मलाई लाग्यो अहिलेका नेताहरूबाट र पार्टीहरूबाट यो मुलुक उँभो लाग्दैन । मलाई अब उनीहरू हुनुभन्दा बरु नहुनु नै ठीक हुन्छ जस्तो लाग्न थालेको छ । यो सब देख्दा लाग्छ बरु यी नेताहरूबाट भन्दा कर्मचारीबाटै देश चलाए राम्रो होला । आखिर ती पनि त नेपाली कै बच्चा हुन् । ती पनि नेता हुन्छु भन्नेहरूभन्दा बुद्धि विवेकमा कम छैनन् । सीडीओलाई झापड हान्ने मन्त्रीबराबरको बुद्धि त तल्लो तहका कर्मचारीहरूमा पनि छ किनकि ती लोकसेवा लडेर आएका छन् । नेपाल र नेपालीले अहिलेको नेता भन्नेहरू र पार्टी भन्नेहरूसँग कहिलेसम्म विश्वास गर्ने – अब यसतर्फ पनि सोच्ने बेला आइसकेको छ । अहिलेको अवस्थामा नेताहरूलाई भन्दा कर्मचारीलाई देश दिनु ठीक हुनसक्छ । यो मेरो गहिरो विश्वास हो ।
माओवादी आन्दोलनविरुद्ध शान्ति र्‍यालीमा स्वतस्फुर्त ढङ्गले उपस्थित भएका लाखौँ जनताले पनि यी नेताहरूलाई केही स्पष्ट सङ्केतहरू दिएका छन् । ती भीड खाजा खुवाएर, यातायातका साधन व्यवस्था गरिदिएर वा सुत्ने व्यवस्था मिलाइदिएर आएका भीड थिएनन् । तिनीहरू कुनै सभासद् पाउँछु वा प्रधानमन्त्री हुन्छु भनेर पनि आएका थिएनन् । ती भीड नितान्त रूपमा अहिलेका आफूलाई नेता भन्ने व्यक्तिहरूको कामकारबाहीप्रति असन्तुष्टि जाहेर गर्न आएका थिए । त्यस असन्तुष्टि केवल अहिलेका माओवादी आन्दोलनले मात्र जन्माएको होइन, त्यो असन्तुष्टि नेताहरूको भ्रष्ट चरित्र, राजाको निरङ्कुश बन्ने प्रयास, काङ्ग्रेसको आफ्नै पार्टी बहुमतमा छँदा पनि पार्टी फुर्टाई चुनावमा जाने क्रियाकलाप, एमालेको आफ्नै झगडा र समग्र रूपमा जनताको जीवनस्तर उठाउन असफल नेताहरूको जमात र तिनका टीढलाग्दा क्रियाकलापहरू देखेर नै ल्याएको हो ।
इतिहासको यस मोडसम्म आउँदा मलाई लाग्छ अब यी राजनीतिक दलहरू नेपालमा असफल सावित भइसकेका छन् । राजतन्त्र पनि असफल भइसकेको छ । अब नेपाललाई संयुक्त र मजबुत बनाउन एउटा नयाँ वादको आवश्यकता छ । नेपालमा आयातीत माओवाद, मार्क्सवाद, लेलिनवाद, लिङ्कनवाद, गान्धीवाद, राजावाद वा कुनै पनि वाद काम लाग्दो रहेनछ भन्ने कुरा नेपालको विकास र सुरक्षाको स्थिति हेरेर प्रमाणित भइसकेको छ । त्यसैले नेपालको समृद्धि र एकताका लागि एउटा नयाँ वाद आवश्यक छ जुन वादले आर्थिक क्षेत्रमा एउटा नयाँ फड्को मारोस्, नेपाली विकसित मुलुकका बासिन्दाझैं हरेक क्षेत्रमा सुरक्षित रहून्, मुलुक एकढिक्का भएर अगाडि बढोस् र अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो विशिष्ट पहिचान रहोस् । के यी सब कुरा एउटा गरिबलाई हातमुख जोर्न छिनोसम्म किन्न दिन नसक्ने सरकार र राजनीतिक दलले पूरा गर्न सक्ला – कदापि सक्दैन । त्यसैले आजैबाट म पनि नेपालका लागि एक छुट्टै वाद बनाउन लागिपरेको छु र त्यसमा प्रसस्त चिन्तन गर्दै छु । सम्पूर्ण पाठकलाई पनि नयाँ वाद बनाउन लागिपर्न अनुरोध गर्छु । नेपालीले नदेखेको देशबाट बनेको मार्क्सवाद, लेनिनवाद, लिङ्कनवाद यहाँ चल्न सक्छ भने हामी आफैंले बनाएको वाद किन नचल्ला ? माधव नेपाल, प्रचण्ड, शेरबहादुर र सुशील कोइराला साथै सबै अन्य देशबाट आयात गरी ल्याइएको वादमा विश्वास गरी मुलुकलाई उँधो गतितिर लाने सबैलाई पनि नयाँ वाद खोज्न म सल्लाह दिन्छु । मैले वाद बनाएमा त्यसको नाम कुँवर वाद राख्नेछु । श्रमिकले छिनोसम्म किन्न नपाउने अहिलेको सबै वाद बेकार देखिए ।