श्रीलङ्कामा कर्फ्यू आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ

श्रीलङ्कामा कर्फ्यू आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ


कोरोना भाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय नियन्त्रण तथा रोकथामका लागि मार्च २० पछि जारी गरेको निशेधाज्ञा (कर्फ्यू आदेश) उल्लङ्घन गर्ने २६ हजार व्यक्तिलाई देशभरबाट पक्राउ गरिएको श्रीलङ्काको प्रहरीले मङ्गलबार (१४ अप्रिल) बताएको छ । प्रहरीले विगत २४ घण्टामा एक हजार ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

सरकारद्वारा जारी निशेधाज्ञालाई उनीहरूले उल्लङ्घन गरेका प्रहरीको दाबी छ । उनीहरूलाई निशेधाज्ञाको समयमा सडकमा अनावश्यक आवतजावत गर्ने, सार्वजनिक स्थानमा भेला हुने र रक्सी मद्यपान सेवन गर्ने, अत्यावश्यक काममा बाहेक रमाइलो वा घुमघामका लागि सडकमा सवारी साधन चलाउने, रेष्टुरेण्ट खुला राख्ने र सडकमा अभद्र तथा उद्दण्ड क्रियाकलाप गर्ने गरेको पाइएपछि पक्राउ गरिएको सिन्ह्वाले जनाएको छ ।

प्रहरीले उक्त अवधिमा छ हजार ७०० सवारी साधनलाई पनि नियन्त्रणमा लिएको र पक्राउ परेका सबै जनालाई आगामी दिनमा स्थानीय अदालतहरूमा पुर्पक्षका लागि पेश गरिने बताइएको छ ।

श्रीलङ्काले मार्च २० देखि जारी गरेको कर्फ्यू आदेश खाद्यान्न तथा अत्यावश्यक सामग्रीको पुनःसञ्चय गर्नका लागि गत हप्ता एक दिन केही घण्टाका लागि खुला गरेको थियो ।

श्रीलङ्कामा मङ्गलबारसम्ममा २१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसमध्ये ५९ जना निको भएका छन् । अन्य १४२ जनाले सरकारद्वारा तोकिएको अस्पतालमा उपचार सेवा र निगरानीका लागि राखिएको छ । यहाँ हजारौँ विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिलाई उनीहरूकै घर वा प्रशासनद्वारा स्थानीय स्तरमा निर्माण गरेका क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।