■ डिल्ली अम्माई
घरबाट काममा जाँदा
कता कता बाटामा रोपिएका
रुखहरु हावाले हल्लाउँदा
मृत्युले नै हल्लाएझैँ लाग्ने
कामबाट घरमा फर्किंदा
प्राण पर्खेर बसेकोले
नाकबाट खुस्स भित्र पसेझैँ
मन फुरुङ्ग हुने
कोरोना हुरी चलेकोले होला ।
हातमा स्याम्पु राखेर
मिचि मिची हात धुँदा
मलाई लिन आएको मृत्यु
हातैबाट पखाले झैँ लाग्ने।
आज केही दिनपछि काममा फर्कें
सहकर्मीका अनुहार निहारेर हेरेँ
आनाको अनुहार पनि
जुलुयाको अनुहार झैँ तर्सेको छ
माया, सोफी सबैको अनुहारमा
मृत्युले सुनपानी छर्के झैँ
डरको पसिना बर्सेको छ
नजिक जाँदा मायालु देखिने सहकर्मी
आवाज सुन्दा तर्सेको छ।
अस्पताल,
मृत्युको भुमरीले घुमाएको
कोलाहलको अर्को नाम भएको छ
युरोपको सपनामा थुक निल्दै नजिकिनेहरु
अहिले त्यहि नामले थला पर्छन्
आधि र उन्नत भूगोल
अहिले कालो मृत्युले
शोकमग्न छ।
मान्छे मलामी जान त के कुरा
संजालमा श्रद्धान्जली भन्न डराएको छ
काल कालो बन्द कोठाभित्र
समय रोकेर बसेको छ
आकास झन् गाढा छ
तर मान्छेले मान्छे हेर्न सकेको छैन
आकास हेर्न डराएको छ
मानौँ आकासबाट उसलाई लिन
अजंगको भूत आएको छ।
त्यो खोलामा भूत छ भनेर
ऊबेला आमाले तर्साउँथिन्
अचेल मलाई मात्र हैन
सबैलाई बेलायतले तर्साउँछ
इटालीको नामले मान्छे कहालिन्छ
युरोपमा मात्र हैन
अमेरिकाको न्युयोर्कमा
मृत्युको आँधीले
सबैको मुटू हल्लाइरहेछ
पहिले पहिले मेरो घरअघिको
क्याथोलिक चर्चमा बज्ने
घन्टीको आवाजले रोमाञ्चित बनाउँथ्यो
सुन्दा सुन्दा बानि परेर होला
बद्यवादनको सुरले झैँ
मोहनी लगाउँथ्यो
अचेल चर्चको घन्टी बज्दा
कसैले मृत्यु बोलाए झैँ
मर्नको लागि कसैले निम्तो पठाए जस्तो
झस्काई झस्काई प्राण दुखाउँछ
भित्र कतै नमिठो गरि
खिलले झैँ चस्काउँछ
स्वास लिँदा फेर्न
स्वास फेर्दा लिन बिर्सेझैँ
स्वास फेर्दा र लिँदा
प्राण निस्केर भित्रबाहिर गरे झैँ
अचेल मृत्युको महामारी
मृत्युको सुनामी
र जीवनको लिलामी चलिरहेछ ।
युरोपका हँसिला गल्लिहरुमा
मृत्युको अट्टहासले
मानिसको हुर्मत लिँदै
निसास्सिने मसानको बाटो झैँ
एकतमासे र चिहिऱ्याउँदो
सुसेली बजाइरहेछ।
खै कतिन्ज्याल हो यो स्वास ?
बिहान बेलुकाको र
बेलुका बिहानको पर्खाइमा झैँ
कतै यही मृत्युलाई पर्खिरहेको त छैन ?
प्रतिक्रिया