नाइजेरियामा माछा-पोखरीको स्वामित्वका विषयमा जातीय हिंसा, २५ जनाको मृत्यु

नाइजेरियामा माछा-पोखरीको स्वामित्वका विषयमा जातीय हिंसा, २५ जनाको मृत्यु


अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको छ ।

स्थानीय प्रहरीले जनाएअनुसार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच गत सोमबार (१३ अप्रिल) भएको भिडन्तमा झण्डै सय वटा घरमा क्षति पुगेको छ ।

ताराबाको लाउ नाम गरेको गाउँमा यी दुई प्रमुख जातिको बसोबास रहेको छ भने उनीहरुको मुख्य पेशा माछा मार्ने हो । ताराबाका प्रहरी प्रवक्ता डेभिड मिसालले दुबै पक्षबीच भएको हिंसात्मक झडपका बारेमा अनुसन्धान थालिएको जनाएका छन् । दुबै समुदायबीचको उक्त हिंसाको मुख्य कारण थाहा भइसकेको छैन ता पनि माछा पोखरीको स्वामित्वमा हानथाप परेर झडप भएको हुन सक्ने बताइन्छ ।

दुई समुदायबीच माछा पोखरीको स्वामित्वका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको स्थानीयवासीको भनाई रहेको सिन्ह्वाले जनाएको छ । यही कारण बेलाबेला हुने झडपका कारण मानिसको मृत्यु हुने गरेको छ ।

सन् १९९० को दशकमा राज्य सरकारले विवादित माछा पोखरीमा माछा मार्न दुबै समुदायमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सन् १९९९ मा हटाइएको थियो तर त्यसयता दुबै समुदायबीच अझ बढी हिंसात्मक झडप हुन थालेका छन् ।