केही समयअघि काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदकविजेता खेलाडीको पूर्वघोषित नगद पुरस्कार सम्बन्धित खेलाडीहरूको बैंक खातामा पठाइएको छ ।
पदकविजेता ४ सय ३५ खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ उनीहरूको खातामा पठाइएको हो । त्यसमध्ये ९२ पदकविजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो ।
बाँकी खेलाडीका पुरस्कार रकम बुधबार (३ वैशाख) खातामा पठाइएको बताउँदै प्रशिक्षक र संघको पुरस्कार क्रमैसँग पठाइने राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ ।
१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो । १३औं सागको उपलब्धि नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिलेसम्मकै ठूलो उपलब्धि हो ।
व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाखका दरले पुरस्कार पठाइएको छ । पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।
प्रतिक्रिया