‘आखिर म गंगा न हुँ’ : पाठकको दृष्टिमा

‘आखिर म गंगा न हुँ’ : पाठकको दृष्टिमा


मदनराज थापा

यस आलेखमा आखिर म गंगा न हुँ कविताको सक्षिप्त रूपमा चर्चा गर्ने जमर्काे गरिएको छ । आफ्नो जीवनलाई गंगानदीसँग तुलना गर्दै कवयित्री दुर्गा तिवारीले यस कवितामा नारीजीवनको यथार्थता पस्किनुभएको छ । जसरी गंगानदी कैयौँ कल्मषलाई पखालेर आफ्नो बहाव स्वच्छ राखेर बगिरहन्छ अविरल, त्यसरी नै समाजका अनेक विसङ्गति, विकृति, विद्रूपताको अनेक रूप कसर, दूषित पदार्थ, अनगिन्ती किचडले जतिसुकै उधुम मच्चाए पनि तिनलाई आफुमा समाहित गरेर अनवरत बग्दै जाने आफ्नो जीवनदृष्टि कवयित्री दुर्गाकिरण तिवारीको यस कवितामा रहेको छ । उहाँको सृजनधर्मी व्यक्तित्व पूर्णतः समाजप्रति प्रतिबद्ध हुँदै आएको सन्दर्भमा उनिएर कवयित्रीको निजी जीवनको अनुभवसँगै निःसृत भएको छ ।

नेपाली साहित्यको खास गरी मुक्तक र कविताविधामा उहाँको धेरै योगदान छ । एक उत्साही सर्जक, चिन्तनशील प्रतिष्ठित कविव्यक्तित्व मानिनु हुन्छ दुर्गाजी । उहाँका काव्यरचनामा राष्ट्रियताको भावनाका विभिन्न रूपहरू कुटकुटले भरिएको पाइन्छ । त्यस्तै प्रकृतिप्रेम, लौकिक र आध्यात्मिक क्षेत्रका विषयगत विशिष्टताको साथै बिम्ब, कल्पना, प्रतीक र विचारात्मक गहिराइ उहाँका कविताहरूमा यथेष्ट पाइनछ । उहाँका रचनामा निहित शिल्पगत विशेषतालाई पनि हामीले अनुभव गरेका छौँ ।

जीवनयात्रामा मानिस सदैव आफ्नै आन्तरिक प्रवृत्ति र परिस्थिति अनुरूप सञ्चालित हुन्छ भन्ने मान्यता राख्ने कवयित्री दुर्गा किरण तिवारीको रचनात्मक वृत्ति प्रकृतिप्रदत्त रहेको छ । गहिरो संवेदनाले भरिपूर्ण उहाँको भावप्रवण व्यक्तित्वले जब उर्वर परिवेश पाउँछ तब उहाँको सृजनधर्मी मनको भाव उन्मुक्त भएर नीलनभमा विचरण गर्न थाल्दछ अनि अंकुरित, पुष्पित र पल्लवित हँुदै झाँगिन थाल्दछ । उहाँको अबोध बाल्यकाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण परिवेश र शैक्षिक वातावरणमा बित्यो । रचनात्मक सोचको लागि आवश्यक पोषण कास्की, पोखराको राजाको चौतारो नामको गाउँबाट नै मिल्न लागेको थियो जहाँ उहाँको जन्म भएको थियो । विभिन्न चाडपर्व, मेला, उत्सवहरू हर्षोल्लासका साथ मनाउने त्यो प्रकृतिले सिँगारेको गाउँ, त्यसका अतिरिक्त शिक्षित पारिवारिक वातावरणले उहाँको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण योगदान दियो । घरमा शक्तिको उपासनाको वातावरणले उहाँको मनमस्तिस्कमा नैतिकताको अमिट प्रभाव परेको थियो नै । नयाँ उमङ्ग, स्वछन्द, नव–उल्लासमय वातावरणमा हुर्कंदै आफ्नो साहित्यिक व्यक्तित्वलाई निखार्दै अघि बढिरहनु भएको छ कवयित्री दुर्गा किरण तिवारी, एउटा शक्ति लिएर । रचनात्मक व्यक्तित्वको सबैभन्दा प्रभावकारी शक्ति भन्नु नै उहाँको प्रबल जिजीविषा देखिन्छ ।

उहाँका कवितामा प्रकृति, मानवीय र कलात्मक सौन्दर्य पाइन्छ । शोषित, पीडितहरूप्रति सहानुभूति र उनको भविष्यमाथि हुने खेलबाडले उब्जाएको चिन्ता, मानवीय मूल्यप्रति गहिरो आस्था र सौन्दर्यचेतनाका कारण उहाँका कविताले वास्तविक जीवनसँग सिधा संवाद गर्दछन् । उहाँको औदात्यपूर्ण कृति नचुमेको क्षितिज कवितासंग्रह प्रकाशित भैसकेको छ ।

‘आखिर म गंगा न हुँ’ शीर्षकको कविता आफ्नो जीवनदर्शनसँग जोडेर स्वछन्दतावादी आत्मपरक अभिव्यक्ति दिन सफल कविता हो । निर्मल स्वचछ गंगा बन्दै भोका प्यासीहरूका निम्ति निर्मल झरनाको पानी बन्दै तिर्खा मेटाइदिएको र आफु गर्वका साथ म गंगा हुँ भन्ने कवयित्रीको यो उदघोष जीवनप्रतिको शाश्वत सत्यको दृष्टिकोणले ज्वलन्त नमुना बनेको छ । प्रकृतिलाई उल्ट्याउन नसक्ने सत्यतातर्फ इंगित गर्दै यस कार्यमा लागेमा सधैँ तिमी विफल हुनेछौ भन्ने भावना यसरी पोखिएको छ–

थुन्न खोज मेरो बहावलाई
तिमी सधैं विफल हुनेछौ ।

आफ्नो सत्यलाई आत्मसात् गर्दै ती हराउन लागेका सत्यलाई आफैँले पुनः प्राप्त गर्न उहाँ चाहनुहुन्छ ।

प्रस्तुत कवितामा जम्मा ८ वटा पूर्ण अनुच्छेद र ५५ वटा कवितात्मक हरफहरू छन् । प्रत्येक अनुच्छेदका हरफहरू बढीमा १० वटा र घटीमा ५ वटा छन् । प्रत्येक हरफमा अन्त्यानुप्रास खोजिएको छैन तर स्वरव्यञ्जनको आवृत्तिले गर्दा कविता लयात्मक र श्रुतिमधुर बन्न पुगेको छ । आत्मगत अभिव्यञ्जनाको प्रबलता रहेको यस कवितामा प्रथम पुरुष शैलीमा एकवचन कर्ताका रूपमा ‘म’ पात्रको प्रयोग गरिएको छ । त्यो म पात्र गंगानदीको समष्टिस्वरूपको सेरोफेरोमा घुमेको छ । त्यसलाई प्रबल बनाउन ‘र त म गंगा हुँ’ भन्ने चाक्षुष बिम्बलाई पुनरावृत्त गरिएको छ । एउटा भाव र विचारको वर्तुलित विस्तार र चक्रात्मक ढााँचामा कविता संरचित छ । यस कवितामा गंगा र म बीचको तादात्म्य दर्साइएको भावको अभिव्यञ्जना सुन्दर तरिकाले हुन सकेको छ ।

कविता–रचनामा भाषिक एकाइ र घटकहरूको संरचनामा एक प्रकारको सामञ्जस्य हुन्छ । यसैले रचनालाई काव्यात्मक तुल्याउँछ । कवितामा उहाँ भन्नुहुन्छ–

एकनास मेरो धर्म निभाएकै छु
मेरो धर्म बगीरहनु एकनाससित ।

यहाँ एकनास र मेरो धर्म दुइ पटक पुनरावृत भएर समानान्तरताको प्रयोगबाट कवितामा सौन्दर्यवृद्धि भएको छ । यसरी नै कलकल, निश्चल, अनि खहरे भल भन्ने शब्दमा ‘अल’ यो अंशको आवृत्तिले सुन्नमा सरल लाग्छ । आञ्चलिक शब्द प्रयोग गरिएबाट ग्रामीण परिवेशको चित्र मनमा आउँछ ।

कवितामा अक्सर सामान्य भाषिक नियमभन्दा पर गएर पदावलिको प्रयोग गरिन्छ । साहित्यकारको भावोच्छलनलाई प्रचलित सामान्य भाषाले थेग्न नसक्ने हुन्छ । आफ्नो रचनामा नवीनता, कलात्मकता र निजीपन प्रदान गर्नाका लागि भिन्न नयाँ किसिमको प्रयोग यसरी ल्याउने गरिएको हुन्छ । उहाँका कवितामा पनि यस प्रकारको प्रयोग पाइन्छ । जस्तै प्रस्तुत कवितामा ‘शिरदेखि सागरसम्म’ पदावलीको प्रयोग गरिएको छ । सामान्य अर्थमा हामी शिरदेखि पाउसम्म भन्दछाँै तर यहाँ गंगाको सन्दर्भ भएकाले सागरसम्म शब्द लेखेर मानक प्रयोगदेखि विचलन ल्याइएको छ । अमानक शब्दहरूको प्रयोग ताजापन र आकर्षणको लागि गरिएको छ । यस्तै अन्य शब्दहरू जिन्दगीको प्रवाहमा, कलकल, निश्चल, कञ्चन, गहिराइमा डुबेर, भिजाएका छौं, सङ्लिइरहनेछु बारबार बगेर, मेरो धर्म बहनु त हो, एक घुड्को, म नै साथ हुनेछु, नाटक सकिँदासम्म, जस्ता पदावलिको प्रयोग उल्लेख्य छ । प्रसङ्गानुसार भावाभिव्यक्तिको लागि छोटा वाक्य र लामा वाक्य, दुवै रूप प्रयोग गरेर आफ्नो मनको भाव व्यञ्जित गरिएको पाइन्छ यस कवितामा ।

कवितामा अन्तिम श्वास लिने धोको रहँदासम्म भन्ने भाव व्यक्त छ । वास्तवमा यो जीवनको कटु यथार्थ हो र यथार्थलाई उपमा अलंकार जस्तै ‘म चम्चामा अटाउनेछु’ जस्ता पदावलि प्रयोग गरिएबाट कवितामा विशालताबाट सूक्ष्मताका लहरसम्म आफ्नो उपस्थिति गङ्गाको एकात्मताले स्थापना गरिएको हुँदा कवयित्रीको भाव मार्मिक एवम् प्रभावकारी बनेको छ ।

तुलसीपत्र चोपेर भिजाउन गला
एक घुड्को
म चम्चामा अटाउनेछु ।

यस्ता अप्रत्याशित भाषिक प्रयोगले पाठक जुन कविताको कथ्यको साथसाथै अगाडि बढ्दै थियो त्यस क्रमलाई अचानक भङ्ग गर्दै भावपूर्ण अभिव्यक्तिमा ध्यान दिन विवश बन्दछ । भाषिक कौशलको यस प्रकारको प्रयोगले पाठकको स्वतः ध्यान आकर्षण गर्दछ । आफ्नो स्वचालित प्रक्रियाबाट मार्गविचलित भएर असामान्य रूपबाट भिन्न भावलाई ऊ अनुभूत गर्न थाल्छ । पाठकले पुरै गङ्गा नै चम्चामा अटेको रोमाञ्चकारी अनुभूति गर्दछ । उहाँका कवितामा प्रयोग भएका केहि शब्दहरू जस्तै कसरहरू, दुर्गन्ध, फोहोर, किचडहरू, दूषित पदार्थहरू, मयल आदि एक–अर्काका पर्यायवाची शब्दजस्ता छन् जसको अर्थ समान छ । सन्दर्भ अनुसार पाठकका मस्तिष्कमा झल्कने चित्रमा उचित राग कल्पनात्मक बिम्ब उद्बुद्ध गर्ने क्षमता भएका शब्दको चयनले गर्दा कविता सौन्दर्यपरक र विषयानुकूल बन्न सकेको छ ।

यसरी हेर्दा कवयित्री दुर्गाकिरण तिवारी नेपाली साहित्यमा विशेषगरी मुक्तक र कविता विधामा सिद्धहस्त बहुआयामिक विशिष्ट कवयित्रीको दर्जामा आउनुहुन्छ । उहाँका कविता बहुआयमिक हुनका साथै अनेक नयाँ नयाँ तत्त्वको प्रयोग गर्ने प्रयोगवादी कवयित्रीको परिचय पनि दिन समर्थ छन् । उहाँको भावाभिव्यक्तिको सजीवता र शिल्पको वेशिष्ट्यले गर्दा कलात्मकताको लागि ठोस भूमि प्रदान गरेको छ । यति हुँदाहुँदै पनि यदि कवितामा शब्दचयन गर्दा अझ कवितामा संगीतात्मकता, मार्मिकता एवं प्रभावशालिता आउनेछ भन्नेमा दुईमत छैन ।