पछिल्लो तथ्याङ्कअनुसार कोभिड–१९ को महामारीमा परेर विश्वमा १ लाख ४० हजार भन्दा धेरैले ज्यान गुमाउन पुगेका छन् भने २१ लाख भन्दा ज्यादा सङ्क्रमित बनेका छन् ।
अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या ३२ हजारभन्दा बढि छन् भने त्यहाँ ६ लाख ४० हजार कोरोना–सङ्क्रमित रहेका छन् ।
यति मात्र नभई अमेरिकामा यतिबेला २ करोड १० लाख मानिस बेरोजगार बन्न पुगेका छन् ।
यस्तै परिस्थितिबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जनजीवन सामान्य तुल्याउन चौध–चौध दिवसीय तीन चरणका योजना पेश गरेका छन् ।
‘ओपनिङ अप अमेरिका अगेन’ नाम दिइएको ट्रम्पको योजनाअन्तर्गत पहिलो चरणमा सामाजिक दूरी कायम राख्दै स्कुल र कार्यालयहरु बन्द नै गरिने छन् ।
दोस्रो चरणमा सीमित कर्मचारी खटाएर केही अत्यावश्यक कार्यालयहरु खोल्ने अनुमति दिइने छ । तर, यस चरणमा पचास जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन पाइने छैन ।
तेस्रो चरणमा सबै कार्यालयहरूमा सामान्य तवरले काम गर्न अनुमति दिइनेछ । यस दौरानमा अस्पताल एवम् जेष्ठनागरिकको लागि सञ्चालित केयर होममा मानिसको आवतजावतमा प्रतिबन्ध लगाइने छैन । यस क्रममा जो व्यक्ति सङ्क्रमणको खतरामा रहन्छन्, तिनले विशेष सावधानी अपनाउनु पर्नेछ ।
यसरी अमेरिकालाई पुनर्जागृत तुल्याउने योजना अघि सार्दै राष्ट्रपति ट्रम्पले अमेरिका आफ्नो अर्थव्यवस्था ठप्प तुल्याएर बस्न नसक्ने बताए ।
प्रतिक्रिया