चीनमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण देखिएसँगै सरकारले घरदेखि टाढा बसेर काम गरिरहेका प्रवासी श्रमिकलाई क्रमशः काममा फिर्ता गराएको त्यहाँको गरिबी निवारण तथा विकास कार्यक्रम राज्य परिषद् कार्यालयले जानकारी गराएको छ ।
सरकारले गरिबी र कोरोना भाइरसको महामारीसँग लडिरहेका श्रमिकको आर्थिक समस्यालाई मध्य नजर गर्दै कोभिड–१९ पूर्व सञ्चालनमा रहेका गरिबी निवारण कार्यक्रमहरूलाई पुनः सञ्चालनमा ल्याएको हो ।
चीनले कमजोर आर्थिक अवस्था रहेका तर घरदेखि टाढा रहेका कामदारलाई कार्यस्थलमा फर्काउने अभियानअन्तर्गत अप्रिल १० सम्ममा विभिन्न २५ प्रान्तस्तरमा दुई करोड ३५ लाख ३० हजार श्रमिकलाई काममा फर्काएको कार्यालयले जनाएको हो । एक महिना पहिले उक्त सङ्ख्या करिब ९३ लाखको हाराहारीमा रहेको थियो ।
अधिकारीका अनुसार गरिबी निवारण कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका करिब ९५ प्रतिशत साना तथा मझौला उद्योग र व्यवसायिक फर्मले उत्पादनको काम थालिसकेका छन् । प्राय मध्य तथा पश्चिमी चीनमा रहेका गरिबी निवारण कार्यक्रमहरूलाई पुनः सञ्चालनमा ल्याइएको छ ।
सरकारले गरिबीको रेखामुनि रहेका नागरिकलाई शैक्षिक, राजनीतिक तथा आर्थिक रूपमा माथि उठाउने लक्ष्यसहित सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमका कारण रोजगारी पाएका र जीवनयापनलाई सुधार्न सफल भएकाहरूको अवस्था कोरोनाभाइरस सङ्क्रमणका कारण प्रभावित भै पुनः गरिबीको शिकार हुन नपरोस् भनी त्यस्ता श्रमिकलाई प्राथमिकता सहित काममा फिर्ता गरेको हो ।
प्रतिक्रिया