घर हिँडेका पैदलयात्रीलाई कपिलवस्तु कांग्रेसको राहत

घर हिँडेका पैदलयात्रीलाई कपिलवस्तु कांग्रेसको राहत


गोपाल भण्डारी, तौलिहवा

लकडाउनको घोषणापछि गन्तव्यमा पुग्न नसकेका सर्वसाधारणहरुलाई नेपाली कांग्रेस कपिलवस्तुले खानपिनको व्यवस्थापन तथा उद्दार गर्ने जनाएको छ ।

दैनिकजसो गन्तव्यमा पुग्नका लागि हिँडेका सर्वसाधारणहरु भोकभोकै रहेको अवस्था देखिएपछि मानवीय सेवाका लागि उनीहरुलाई खानपिन र गन्तव्यसम्म पुग्न नेपाली कांग्रेस कपिलवस्तुले सहयोग गर्ने जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताएका छन् ।

जिल्ला सभापति आचार्यले एक वक्तव्य जारी गर्दै अलपत्र परेकाहरुका साथमा नेपाली कांग्रेस कपिलवस्तु रहने बताएका छन् । अलपत्र परेकाहरुको उद्दार, खानपिन र गन्तव्य सम्म पुग्ने व्यवस्थापनका लागि नेपाली कांग्रेसका तर्फका संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय निकायका प्रमुखहरुसंग सल्लाह गरी पार्टी नेता कार्यकर्ता, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघलाई परिचालन गरिने जिल्ला सभापति आचार्यले बताए । यसका लागि पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा खाना खाने र बस्नका लागि व्यवस्थापन गरिने बताइएको छ ।

संकटको यो बेलामा राजनीतिभन्दा माथि उठेर मानवीय सेवाका लागि जुट्न सबै दलका नेता कार्यकर्ताहरुलाई पार्टी सभापति आचार्यले आह्वान गरेका छन् । कोभिड १९ को यो महामारीसँग लड्न सबै नेपाली एक भई अघिबढ्नु पर्ने उल्लेख गर्दै सभापति आचार्यले भने, ‘पहिले कोभिड १९ संग लडौं त्यस पनि निर्वाचनका बेला आआफ्नो पार्टीको एजेण्डा लिएर लडौँला ।’

लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गर्दै आएका र दुई छाक टार्न मुस्किल रहेका सर्वसाधारणहरुलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले जिल्लामा गर्दै आएको राहत वितरण कार्यको सभापति आचार्यले प्रशंसा गरेका छन् ।

नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेपाल विद्यार्थी संघ क्षेत्रिय सभापति चन्द्रकान्त पोखरेलको नेतृत्वमा तरुण विद्यार्थीहरुले गरेको राहत सामाग्री वितरण कार्य आम नेपाली तरुण विद्यार्थीहरुका लागि उदाहरणीय बनेको छ, सभापति आचार्यले भने, ‘आज मलाई नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका भाइहरुप्रति गर्व लागेको छ ।’