आधुनिकताको त्रास : कोरोना

आधुनिकताको त्रास : कोरोना


■ अमृत खरेल

नासी प्राकृत जीव, सृष्टि लयको विध्वंशमा लम्कँदा,
स्वार्थी, दुष्ट भएर दोहन गरी भूस्वर्गको सम्पदा,
मान्छेको अभिमान प्रस्फुटित भो जीवाणुको भेषमा,
बन्यो आखिर त्रास आधुनिकता सातै महादेशमा ।।१।।

फैली रोग अचम्म आज दुनियाँ बन्दी बने घर्घर,
भेटे क्वै अनजान गाउँघरमा मान्छे उसै थर्थर ।
आफन्ती जनबाट सर्छ कि भनी दूरी गरे कायम,
भो संकष्ट थुनेर भाइरसले एकान्तमा सम्भ्रम ।।२।।

खाना, खर्च हुने त सञ्चित गरी ढुक्कै बसे बासमा,
दुःखी, निर्धन गाउँ पैदल फिरे भोकै हुने त्रासमा ।
काली भेल तरेर फिर्न घर ती पौडेर आएपनि ,
पाएनन् छुन देश नागरिकले राज्यै हराएछ नि ।।३।।

पऱ्यो शोक भनेर भेट्न नहुने साथी अँगाली रुन,
मान्छे कल्पिन पर्छ यो समयमा आफ्ना हितैषी छुन ।
मान्छेले सब भेट वर्जित गरे तर्सेर मान्छेसित,
एकात्मा नहुँदा धरा प्रकृतिमा जोगिन्न हाम्रो हित ।।४।।

फोक्सो श्वास खराब सङ्क्रमित भै कैयौँ मरे मानिस,
ठूला देश अटेर आपसमहाँ गर्छन् अझै आरिस ।
यो बेला पनि विश्व शासकहरू खेल्छौ सिङौरी कति ?
कोरोना छ चुनौती, सोच न मिली पृथ्वी सपार्ने मति ।।५।।

लोभी, भ्रष्ट, कपूत सङ्कट भनी छाड्दैन मौका झिनो,
छोपी दाउ विपत्ति, गिद्ध जसरी लुछ्यो चिथोरी सिनो ।
घुस्याहा अपराध कर्म घटिया गर्छन् ठगी शासक,
कात्रोमा पनि जेब जोड्नु छ भनी डाकिन्छ रे बैठक ।।६।।

बस्ती मानव सार्न मङ्गलमहाँ खोजे नि विज्ञानले,
सर्वोत्कृष्ट उपाय सावित भयो – हातै धुने ध्यानले ।
ढोँगी चाल बढेर विश्वभरि नै खोक्रो भयो सभ्यता,
चिन्यौँ कृत्रिम तत्व बल्ल अहिले, ब्रम्हाण्डको भव्यता ।।७।।

कायाकल्प लुकेर हुन्न घरमै उम्रिन्न सञ्जीवन,
पुर्खाको बलिदान पाठ नसिकी सुध्रिन्न है जीवन ।
जोगाई इतिहास, मौलिक कला, सत्मार्गको चिन्तन,
खोजौं दिव्य प्रकाश शुद्ध मनले, पूर्वीय सत् दर्शन ।।८।।

होओस् नष्ट विपत्ति सूक्त र ऋचा, ओंकारको गानले,
जागोस् मानव जाति उज्ज्वलित भै वेदान्तको ज्ञानले ।
लीला जीवन मृत्यु हो नियतिको आनन्ददायी स्वयम्,
बाँचौँ मानवता र धर्म ऋतले, सत्यं शिवं सुन्दरम् ।।९।।

– मातातीर्थ, काठमाडौं