अमेरिकाले सहयोग कटौतीको घोषणा गरेलगत्तै युरोपेली संघले विश्व स्वास्थ्य सङ्गठनलाई बलियो साथ दिने धारणा सार्वजनिक गरेको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोर्रेलले डब्लुएचओलाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।
संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाईमा डब्लुएचओलाई यो वेला साथ दिनुपर्ने आवश्यकतामा युरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् ।
विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सवैसँग सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार डब्लुएचओलाई दिँदै आएको सहयोगमा आधा कटौती गर्ने घोषणा गरेका थिए । उनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतीको घोषणा गरेका हुन् ।
त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेयेसले महामारीका बेला राजनीति नगर्न आग्रहसहितको प्रक्रिया दिएका थिए ।
रकम कटौती गर्ने राष्ट्रपति ट्रम्पको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया