अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेको सन्दर्भ यतिबेला अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै भारत सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले ती महिलाले कठिन यात्रा गर्नु परेको थियो । यात्राका क्रममा उनले कतै पैदल त कतै ट्याक्सीको प्रयोग गर्नुपरेको पीटीआइले जनाएको छ ।
यात्राका क्रममा झण्डै ६ राज्य पार गरेकीे ५० वर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको बताइएको छ ।
महिलासँगै उनकी एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो ।
लामो यात्रापछि शिलम्मन वासन नामकी ती महिलाले जोधपुरबाट सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी दिएकी थिइन् ।
भगवानको कृपाले कुनै ठूलो समस्याविना नै आफूहरू अस्पतालसम्म पुग्न सकेको पनि उनले बताएकी थिइन् । आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको बताइरहँदा उनमा दुःखको भाव नरहेको बताइएको छ ।
सुरक्षा बल (विएसएफ)मा जवानको रूपमा कार्यरत उनका छोरा विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ पुगेका र त्यहाँबाट फर्केलगत्तै बिरामी परेको समाचार सुनेपछि आमा बासनले छोरा भेट्न त्यति लामो यात्रा पैदल नै भए पनि गरेरै छाड्ने अठोट गरेकी थिइन् ।
प्रतिक्रिया