■ देवप्रकाश त्रिपाठी
सरिना एकाएक सम्पर्कविहीन भएपछि उनले प्रेमको महत्व बुझे–बुझेनन्, तर सरिनाको महत्वचाहिँ राम्रैसँग बुझे । यद्यपि, महत्त्व बुझ्दा ढिलो भइसकेको थियो । कसैको यादमा कुनैबेला यसरी तड्पिनु पर्ला भन्ने उनले कहिल्यै सोंचेकासम्म थिएनन् । एउटा बेग्लै सोच र सानको जिन्दगी बाँचिरहेका उनलाई यतिबेला लैला–मजनु, सत्यवान–सावित्री र नल–दमयन्तीका पौराणिक कथाको मर्म स्मरण भइरहेकोको थियो ।
आफूलाई आउने हरेक फोनहरू सरिनाकै हो कि भन्ने उनी ठान्थे, भइदिए हुन्थ्यो भन्ने सोच्थे । हरेक एसएमएस टोनमा उनी सरिनाको आभास पाउँथे । तर, सरिनाका बारेमा प्रहरीसँग सेयर गर्न भने उनी हिचकिचाइरहेका थिए । सरिना बेपत्ता हुनुको कारण खोज्दै जाँदा आफै पनि फसिने हो कि भन्ने त्रास थियो उनलाई । ६ दिन उनले यत्तिकै घरमै बिताए ।
वर्जित सातौँ दिन बिहान पैदलै प्रहरी थानातर्फ गए । उनले पुर्जी दिँदै गाडी लैजाने अनुमति मागे । गाडी लिएर जाने अनुमति त पाए, सँगै एउटा अर्को पुर्जी पनि थमाइयो । जसमा उनलाई आगामी सात दिनभित्र ‘ग्लोबल वार्मिङ’सम्बन्धी विशेष प्रशिक्षण लिन नर्वे जान भनिएको थियो । सात दिनभित्र नर्वे प्रस्थान गर्ने प्रतिबद्धतापत्रमा ‘फिङ्गर प्रिन्ट’ दिएर उनी घर फर्किए ।
कम्तीमा दुई महिना उनले नर्वेमा बिताउनुपर्ने भयो । सात दिनको समय थियो, तर यसमा ढिलाइ गरिरहनुपर्ने ठानेनन् उनले । सरिनाको यादमा प्रताडित भएर यहाँ बस्नुभन्दा केही समय मन बहलाउन र ‘ग्लोबल वार्मिङ’ तथा यसको प्रभावको उत्कर्षका बारेमा थप जानकारी पाउन उनले प्रहरीद्वारा दिइएको यो सजायलाई अवसरको रूपमा प्रयोग गर्ने सोच बनाए ।
नेटमार्फत भिसा तथा अन्य डकुमेन्ट सम्प्रेषण गरेको दुई घन्टाभित्रै उनले ई–भिसा प्राप्त गरी पनि हाले । जहाजको टिकट मिलाउनु पाँच मिनेटको काम थियो । भोलिपल्ट नर्वेतर्फ जानका लागि उनी सम्पूर्ण रूपले तयार भए ।
निर्धारित समयमै उनी विमानस्थल पुगे । करिव पाँच घन्टामा उनको जहाजले ओस्लो विमानस्थलमा अवतरण पनि गऱ्यो । नेटमार्फत वर्जितले आफूले दीक्षा लिनुपर्ने ठाउँ र प्रक्रियाका बारेमा सम्पूर्ण जानकारी लिइसकेका थिए ।
ओस्लो पुगेकै भोलिपल्टदेखि उनले ‘ग्लोबल वार्मिङ’सम्बन्धी कक्षा लिन थाले । पहिलो दिन शिक्षक तथा साथीहरूसँग परिचयात्मक कार्यक्रमका साथै एउटा वृत्तचित्र हेर्ने काम भयो । जुन वृत्तचित्रमा पृथ्वी कसरी तात्दै छ र यही रफ्तारमा तात्दै जाँदा आगामी सय वर्षपछि पृथ्वी कसरी प्राणीरहित ग्रहमा रूपान्तरित हुन सक्छ भन्ने देखाइएको थियो ।
निकै प्रभावकारी थियो वृत्तचित्र । उनको दिमागमा वृत्तचित्रको प्रभाव यसरी पऱ्यो कि सरिनाको स्थान नै एक प्रकारले विस्थापित हुन पुग्यो । केही अघिसम्म सरिना नै सरिनाले भरिएको वर्जितको मन मस्तिष्कमा अब ‘ग्लोबल वार्मिङ’को कुराले असर पार्न थाल्यो । होटलमा निदाउनुअघि पनि उनको दिमागमा सोही वृत्तचित्र नै घुमिरहयो ।
बिहान निद्रा चाँडै खुल्यो उनको । बाथरूम जाँदा देखिँदैछ– सावरले पानीको सट्टा वाफसहितको हावा मात्र फ्याँक्दोरहेछ । पानी त केवल पिउन र दाँतमुख सफा गर्नका लागि मात्र राखिएको । दाँत माझ्न राखिएको ‘टूथ पेस्ट’ भुलवश ‘डस्टविन’मा खस्यो । बाथरूममै भएको एउटा स्विच थिचेर उनले पेस्ट पठाइदिन रिसेप्सनमा खबर गरे ।
एक मिनेटमै कोठाको घन्टी बज्यो । बाथरूमबाट बाहिर निस्केर उनले ढोका खोले ।
‘सर पेस्ट’ भन्दै एक युवतीले हात बढाइन्, वर्जितले धन्यवाद भन्दै हात पसारे । यस क्रममा दुवैको आँखा परस्पर भए, दुवैले आफूलाई बिर्से, हेरेको हेऱ्यै भए उनीहरू ।
युवती सरिना थिइन् । वर्जितसँगको सम्बन्ध टुटेको ठानेपछि कसैलाई जानकारी नै नगराई उनी ओस्लोतर्फ हानिएकी रहिछिन् । सरिनालाई यसरी फेला पार्नेबित्तिकै वर्जितको दिमागबाट ‘ग्लोबल वार्मिङ’को असर बेपत्ता भयो ।
सरिनाका कारण ‘ग्लोबल वार्मिङ’बारे विस्तृत ज्ञान हासिल गर्नुपर्ने सजाय उनले पाएका थिए । यसक्रममा एउटै वृत्तचित्रले उसको मन–मस्तिष्कमा गहिरो असर पनि पारेको हो । सरिनालाई फेरि आफ्नै अगाडि पाएपछि उनले बाँकी सबै कुरा बिर्सिए । उता सरिनाले चाहिँ आफैलाई खोज्दै वर्जित यहाँसम्म आइपुगेको ठानिन् र देख्नेबित्तिकै मैनझैँ पग्लिन् । उनको त्यत्रो अठोट वर्जितलाई अघिल्तिर पाएपछि गर्ल्यामगुर्लुम ढल्यो ।
दुवैले आ–आफ्ना गल्तीका लागि क्षमा मागे र वर्जितको ‘सजायकाल’ (दुई महिना) पछि आफ्नै देश फर्कने निधो गरे । देश फर्केपछि ‘ग्लोबल वार्मिङ’ र त्यसले प्राणी–जीवनमा पार्ने असरबारे विस्तृत जानकारी गराउने योजना र कार्यक्रम पनि उनीहरूले बनाए । मानिसमा व्यापक जागरण ल्याउन सके पृथ्वीमा प्राणीजीवनको रक्षा गर्न सकिन्छ भन्ने उनीहरूलाई लागेको थियो ।
(क्रमशः)
हेर्नुहोस् पहिलेको खण्ड-

प्रतिक्रिया