देउवानिवासमा कांग्रेसको पदाधिकारी बैठक

देउवानिवासमा कांग्रेसको पदाधिकारी बैठक


नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसिरहेको छ । कोरोनाको महामारीका कारण मुलुक भयावह अवस्थामा पुग्दा पनि प्रमुख प्रतिपक्षी दलको कुनै प्रभावकारी भूमिका नदेखिएको भनी चौतर्फी आलोचना बढेको परिवेशमा कांग्रेसको पदाधिकारी बैठक बसेको हो ।

आज (६ वैशाख शनिबार) बिहान नौ बजे शुरु भएको बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने बताइएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएअनुसार लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिक रूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा केन्द्रित रही पदाधिकारीबीच छलफल हुने छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको आजसमेत दोस्रो पटक हो । यसअघि गत चैत २५ गते लकडाउनपछिको पहिलो पदाधिकारी बैठक बसेको थियो ।

आजको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रूपमा उपस्थित रहेका बताइएको छ ।