सरकार बदल्न प्रचण्ड फेरि सक्रिय !

सरकार बदल्न प्रचण्ड फेरि सक्रिय !


मुलुक कोरोना आतङ्कको चपेटमा परिरहेका बेला सत्तारुढ दलभित्र भने कोरोना भन्दापहिले नै सरकार हटाउने खेल सुरु भएको छ । सरकार बदल्ने खेलको अगुवाइ प्रचण्डले गर्नुभएको भए पनि यो पटक उहाँले ‘एमाले’ नेतालाई नै अघि लगाएर केपी ओलीलाई विस्थापित गर्ने चाल चल्नुभएको छ।

सरकार बदल्न एमालेका झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र बामदेव गौतम तयार हुनुभएको छ । तर, पार्टी विभाजन नहुने अवस्था बनाएर मात्र सरकार बदल्नुपर्छ भन्ने पक्षमा माधव नेपाल रहनुभएकोले प्रचण्ड–योजना कार्यान्वयनमा विलम्ब भैरहेको बुझिएको छ।

प्रचण्डले उपेन्द्र यादव नेतृत्वको ‘फोरम’ (हाल समाजवादी)लाई आफ्नो विश्वासमा लिइसक्नुभएको छ भने काङ्ग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई समेत राष्ट्रिय सरकार गठन गर्ने कुरामा सैद्धान्तिक रुपले सहमत गराइसक्नुभएको छ।

उता राजपाका राजेन्द्र महतोलाई पनि प्रचण्डले आफ्नो लाइनमा ल्याउनुभएको बताइन्छ । अन्तराष्ट्रिय शक्तिकेन्द्रहरूको समेत साथ मिलेपछि प्रचण्ड यसपटक आफ्नो मिसन पूरा हुनेमा विश्वस्त हुनुभएको छ। माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने, झलनाथलाई निकट भविष्यमा विशेष वातावरण बनाई राष्ट्रपति चयन गर्ने भन्दै दुबैलाई आफ्नो लाइनमा ल्याउन सफल भएपछि प्रचण्ड–योजनाले आकार लिने स्थिति बनेको हो ।

तर, माधवकुमार नेपाल आफू प्रधानमन्त्री बन्न तयार भए पनि उहाँ पार्टी विभाजन नहुने अवस्था आएमा यो खेलबाट पछि हट्ने मानसिकतामा रहनुभएको बुझिएको छ। प्रचण्ड पार्टी विभाजन भए पनि केपीलाई हटाइछोड्ने योजना र मानसिकतामा भए पनि एमाले कित्ताका नेताहरू अघि लाग्दा मात्र कार्य सफल हुन्छ भन्ने ठान्नुहुन्छ । त्यसैले उहाँले झलनाथ र माधवलाई अघि लगाउनु भएको हो । झलनाथ निकै आक्रामक रुपमा केपीविरुद्ध सक्रिय हुनुभएको भए पनि माधवकुमार नेपाल प्रधानमन्त्री बन्न पार्टी फुटाउने पक्षमा अहिलेसम्म हुनुहुन्न र प्रचण्ड अहिले अड्किएको पनि यही बिन्दुमा हो ।

यसरी एकातिर प्रचण्ड सरकार विस्थापित गर्ने योजनामा रहनु हुँदा केपी ओलीले कस्तो प्रतिरक्षा नीति लिनुहुने हो त्यसले अबको राजनीतिक मार्ग तय हुने देखिन्छ। प्राप्त जानकारीअनुसार केपी पनि यतिबेला प्रचण्डका हरेक गतिविधि नियाल्दै हुनुहुन्छ । उहाँले प्रतिरक्षाका निम्ति अवलम्बन गर्नुपर्ने नीतिबारे विचार विमर्श सुरु गर्नुभएको बुझिएको छ। संसदीय दलमा आफ्नो स्थिथि मजबूत बनाउने र मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारको तौल बढाउने बाहेक अन्य कुन कुन विकल्पमा केपी जानुहुने हो सो प्रतीक्षाको विषय बनेको छ। केपी ओली सरकारविरुद्ध आइलाग्ने कुनै पनि चुनौतिको सामना गर्ने तयारीमा रहनुभएकोले प्रचण्डको इच्छा सजिलै पूरा हुने सम्भावना भने देखिएको छैन।