कोरोना भाइरसको चपेटमा परेर बेलायतमा हालसम्म १५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यसरी कोभिड–१९का कारण उत्पन्न सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यस वर्ष नहुने र जन्मदिनलाई सामान्य रूपमा मनाइने बकिङ्गम प्यालेसले जानकारी गराएको छ ।
दरबार श्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार महारानीको जन्मोत्सवका दिन आगामी मङ्गलबार (२१ अप्रिल) त्यहाँ कुनै बन्दूक पड्काएर सलामी (सम्मान) हुने छैन । बताइएअनुसार महारानीले अहिलेको विषम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गर्नुभएकोले उक्त कार्यक्रमलाई यस वर्ष नगरिने भएको हो ।
महारानी मङ्गलबारका दिन ९४ वर्ष लाग्नुहुनेछ । उहाँले विरलै राष्ट्रिय सम्बोधन गर्ने भए पनि इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा उहाँले कोरोनाभाइरस सङ्क्रमणको स्वास्थ्य समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
महारानीले उक्त सम्बोधनमा भन्नुभयो, ‘हामीलाई विश्वास छ कोरोनाभाइरसले समस्त मानव जातिलाई जित्न सक्दैन ।’

उहाँले कोरोनाविरूद्धको सङ्कट हटेपछि देशमा बन्दाबन्दी (लकडाउन) पनि हट्ने छ र त्यसपछि आफू सार्वजनिक रूपमा उपस्थित हुने विश्वास उक्त सम्बोधनमा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी फेरि भेट्नेछौँ ।’
मृत्यु र सङ्क्रमणका हिसाबले बेलायत पनि छैठौँ स्थानमा रहेको छ । सङ्क्रमितको सङ्ख्या रोक्ने एउटा उपायका रूपमा बेलायतको सरकारले गत महिनादेखि बन्दाबन्दी (लकडाउन) आदेश जारी गरेको थियो । सङ्क्रमण दर नियन्त्रणमा नआएपछि यो हप्ता सरकारले लकडाउनको अवधि थप तीन हप्ताको लागि बढाएको छ । बेलायतमा कोरोनाभाइरस सङ्क्रमणबाट शनिबार (१८ अप्रिल) सम्ममा मृत्यु हुनेको सङ्ख्या १५ हजार ४६४ पुगेको छ भने एक लाख आठ हजार ६९२ व्यक्ति सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया