कस्को लागि देश थाम्ने ? एक पत्रकारको दुःस्वप्न

कस्को लागि देश थाम्ने ? एक पत्रकारको दुःस्वप्न


■ अभय अधिकारी, अनामनगर (काठमाडौं)

‘अघोरी बाबा चिलिम तानिसकेर खाली गर्दै थिए, पत्रकार पुगेर अभिवादन गऱ्यो । अनि बाबाले आँखिभौं उठाएर प्रश्नभावले हेरेपछि उसले भन्यो– ‘आज मेरो कुनै प्रश्न छैन । बाबाकै कुरा सुन्न आएको हुँ ।’

‘भण्डारी, यात्री र लिम्बूले जस्तै प्रश्न गर्ने ज्ञान र सुन्ने धैर्य छ भने म आफ्ना कुरा भन्न पाउँछु, बीचैमा कुरा काटेर आफ्नो पाण्डित्य वा अज्ञान देखाउने पत्रकार हौ भने फेरि कुनै अर्को दिन संवाद गरौंला नि !’

पत्रकारले आत्मकथन गऱ्यो, ‘बाबा आफ्नो ज्ञान सधैं अद्यतन पार्दा रहेछन् । यी सामान्य बाबा पक्कै होइनन् । मैले नै यिनको ज्ञानबारे थाहा पाउन सकेको छैन भन्ने बुझ्दैछु ।’ अनि विनय भावले सोध्यो- ‘बाबा सीमाविवादले मुलुक अप्ठेरोमा पर्छ जस्तो छ, भविष्य त्यति सुरक्षित छैन कि ? राजनीतिक प्राणी जिम्मेवार भए जस्तो लाग्दैन । बाबा के देख्तै हुनुहुन्छ । कहीँ मुलुक धरापमा पर्ने त होइन ?’

‘हैन । ओलीजस्तो प्रत्युत्पन्न मतिको बाहुन (ब्राह्मण हैन नि) यदि काकामुख छ भने अनेक वैकल्पिक पथ खोल्न सक्छ । त्यति चिन्ता लिनु पर्दैन । चिन्ता त उसको स्वास्थ्यबारे गर्नुपर्छ ।’

‘कस्तो पथ बाबा ? यसबारे जानकारी पाउँ न ।’

‘ओलीले संसद विघटन गर्छन् । गरेनन् भने यो मुलुक दुर्घटनामा पर्छ । यदि विघटन गरेनन् र कुनै अर्को मतिहीन काकामुख भयो भने सम्झ मुलुक गयो । तिम्रो नागरिकता फेरियो । नेपालीले अर्काको संविधान ओढ्यो, झण्डा बदल्यो । त्यसैले हाललाई संसद विघटन नै महत्वपूर्ण वा औचित्यपूर्ण कदम देखिने छ ।’

बाबा बोल्दै गए ‘विघटनपछि गैरराजनीतिक वृत्तका विज्ञ–विशेषज्ञ जो मतिमान्, विवेकी, दूरदर्शी अनि निष्पक्ष र आँटी व्यक्तिहरुको सानो घटकले राज्य संचालन गर्नेछ– नयाँ ढंगले ।’

‘कार्यकारी प्रमुखका लागि प्रत्यक्ष मतदान हुने व्यवस्था हुनेछ र ओलीको समय र वृत्तका व्यक्तिहरुले राजनीतिबाट अनिवार्य सन्यास लिएको घोषणा गरेर चुपचाप बस्नुपर्नेछ । यसो भएपछि विदेशी शक्तिले फैलाएको जाल काटिनेछ । राजनीतिमा नयाँ अनुहार आउनेछन्, पुराना सन्धि–सम्झौता खारेज हुनेछन् ।’

पत्रकार सुन्दै रह्यो ।

‘यदि इण्डियाले ओलीलाई सात दिन राष्ट्रपति बनाइदिन्छु, नोट पनि छापिदिन्छु, हुलाक टिकट पनि सञ्चारमा ल्यादिन्छु । सबभन्दा अग्लो तर पटेलको भन्दा ! इन्च होचो स्ट्याचु बनाइदिन्छु, ओलीनगर घोषित गरिदिन्छु र ओली सुपर एक्सप्रेस चलाइदिन्छु अनि राधिकापुरको बाटोलाई ओली अन्तर्राष्ट्रिय राजपथ घोषित गरिदिन्छु भन्यो भने ओलीले निषेध गर्दैनन् । इण्डियाले ओलीको मुटु छामिसकेको छ । यदि ओलीले यसमा स्वीकृति दिएनन् भने छविप्रसादले यो काम गर्नेछ । यी महत्वाकांक्षीहरु पद र पैसाका लागि जे पनि गर्न सक्छन् । यिनको टीम व्यक्तिगत रुचिका लागि जे पनि बेच्न सक्छ । सीमा विवाद त निहुँ मात्र हो । दाउ अर्कै छ ।’

‘बाबा त्यसो भए सीमा विवाद सकारात्मक भएर टुङ्गिदैन त ?’

‘सम्भव छैन । यीसँग न वाक शक्ति छ न तर्क शक्ति, न त विश्लेषण शक्ति छ । राजनीतिक वृत्तबाहिर त्यस्तो अब्बल दर्जाका नागरिक अवश्य छन् तर ती राजनीतिक शठतातर्फ प्रवेश गर्न नै चाहँदैनन्।’

‘के गर्नुपर्ला त बाबा ?’

‘त्यो बाहुनले संसद विघटन गर्नुपर्छ । अर्को सामूहिक शक्ति सक्रिय हुनुपर्छ । त्यसैले राष्ट्रका सबै निकायलाई सुचारु रुपले परिचालित गर्नेछ र सुन्दर योजना र चुस्त दुरुस्त प्रशासन हुने बित्तिकै जनताले साथ दिनेछन् ।’

‘बाबा के तपाईं पनि देशले प्रगति गर्न नसकेकोमा राजनीतिक तत्वलाई नै दोषी मान्नु हुन्छ ?’

‘बिल्कुल । यो अराजक स्थितिको निम्त्याउने यिनै राजनीतिक जीव त हुन् । यिनले के गरेनन् ? के मात्र गराएनन् ? यदि यी दुष्कर्मीहरुलाई गृहबन्दी गरिदियो भने सारा समस्याको निराकरण हुन्छ । घातक पनि यिनै हुन् र वाधक पनि । त्यसैले पनि संसद विघटन गर्नु बाहेक अर्को असल निकास छैन । विघटन गरेर राजनीतिबाट संयास लियो बाहुनले भने यसको इतिहास सुनका अक्षरले लेखिनेछ । यदि यो मौका चुकायो भने मुलुकलाई सिक्किममय बनाउन छविप्रसाद पछि पर्ने छैन । विचार पुऱ्याउने बेला यही हो ।’

बाबा शेर्पाको भाषण र अन्तर्वार्ता सुन्नुभएको छ कि ?

मलाई उनको विचार मनपर्छ । भरतको पनि मनपर्छ । भण्डारी र मैनालीका वार्ता पनि सुन्छु । विद्युतीय मञ्चहरूमा एक से एक वक्ता आएको देख्तैछु । सबै गतिला छन्, किन्तु राजनीतिक पृष्ठभूमिबाट आउनेहरु नयाँ केही अथवा छन् ।

‘अब तिमी भन यो मुलुक कसका लागि थामिराख्ने ? राजनीति गर्नेका लागि ? भ्रष्टाचारबाट धन जम्मा गर्नका लागि ? आखिर जब आफ्नै राजनीति र संविधानबाट जनताले उत्पीडन सहनुपर्छ भने यो देश चाहियो नै किन ? र,… यिनै गैरराजनीतिक चरित्र भएका सडकछापहरुको हातबाट यो देश विलय हुनेछ ।’ बाबा फेरि चिलिम भर्ने दाउमा लागे ।

पत्रकार डुब्न लागेको मुलुक थाम्न त्यहाँबाट दौड्यो । किन्तु उसले बुझ्न सकेन उसको पक्षमा बल दिनेहरु अब छैनन् र भए पनि देखिँदैनन् ।

000

आफ्नै गोजीमा राखेको फोनले झल्याँस बनायो पत्रकारलाई । स्क्रिनमा तिनै नेताको अनुहारसहितको नाम देखियो । अफिसमा एक्लै बस्ताबस्तै कस्तोगरि अर्धनिद्राले छोपेछ ? सबै दुःस्वप्न उसले सम्झन पनि सकेन र सम्झिरहन पनि चाहेन ।