नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित

नयाँदिल्लीको अस्पतालमा आठ स्वास्थ्यकर्मी संक्रमित


भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोराना भाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दशमहिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को–कोसँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ ।

यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार (१८ अप्रिल) घोषणा गरेका हुन् ।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ भनी घोषणा गरेका एएनआईले जनाएको छ ।

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिनमार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिएका छन् । सामाजिक दुरी कायम गर्न आमनागरिकलाई उनले विशेष आग्रह गरेका छन् भने शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ ।