कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार


कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबार (१९ अप्रिल) सम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको र यसकोे झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृहमन्त्रालयहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको एएफपीले जनाएको छ ।

विश्वभर भएको मृत्यु १ लाख ६१ हजार ९ सय ४ जनामध्ये यसको करिव दुई तिहाई अर्थात् १ लाख ७ सय ९४ जनाको मृत्यु यूरोपमै भएको छ ।

यूरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६४ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्ममा मृत्यु भएको छ ।