राप्रपा केन्द्रिय कार्यसमितिको घोषणा र कार्यसम्पादन समिति गठन गर्न माग

राप्रपा केन्द्रिय कार्यसमितिको घोषणा र कार्यसम्पादन समिति गठन गर्न माग


राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय नेताहरूले पार्टी नेतृत्वसमक्ष अविलम्ब केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समिति गठन गरि बैठक सुचारु गर्न माग गरेका छ्न् ।

सोमबार (८ वैशाख) आयोजित लोकतान्त्रिक संवाद समूहको छ्लफलमा सहभागी सदस्यहरुले पार्टी संगठनलाई जुनसुकै अवस्थामा पनि गतिशील बनाउनुपर्ने धारणा राख्दै लकडाउनको मर्यादामा रहेर पनि केन्द्रीय तहका काम–कारवाहीमा सम्पादन गर्न सकिने विचार व्यक्त गरेको राप्रपा केन्द्रीय नेता किरण गिरिले जानकारी दिए ।

लोकतान्त्रिक संवाद समुहको छलफलमा केन्द्रीय तहमा संस्थागत संरचना र गतिशीलता अत्यावश्यक रहने धारणा प्रकट गर्दै सहभागीहरुले लकडाउनको समय कति लम्बिने भन्ने कुनै निश्चित नभएकोले लकडाउन अवधिभर पार्टी संगठनलाई गतिविधिरहित बनाउनु भनेको लकडाउनपछि पार्टीलाई सुन्यतामा पठाउनु हो भनी असन्तुष्टि व्यक्त गरेका थिए ।

अरु काम गर्न नसके पनि केन्द्रिय कार्यसमितिको घोषणा र केन्द्रिय कार्य सम्पादन समिति तत्काल गठन गरेर आवश्यक निर्णय गर्दै अगाडि जानु उपयुक्त हुने सुझाव उनीहरुले दिएका थिए ।

पार्टीले गर्ने काम संस्थागत र पारदर्शी बनाउन एक हदसम्म केन्द्रिय कार्य सम्पादन समिति अत्यावश्यक देखिन्छ भन्दै नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दूरी वा मर्यादा कायम राखेर हरेक हप्ता कार्य सम्पादन समितिको बैठक बसी आवश्यक निर्णय र अवधारणा तय गरिरहेका उदाहरण दिइएको थियो ।

राप्रपाले पनि अविलम्ब बैठक सुरुवात गर्नुपर्ने जरुरी देखिन्छ । लकडाउन २-४ महिना लम्बियो भने त्यतिसमय पार्टी लाई गतिहिन बनाउनु संगठन को लागि हितकर नहुन सक्छ ।

अहिले लकडाउन, त्यसपछि वर्षायाम, अनि दशैं तिहार छठजस्ता महत्वपूर्ण चाडबाड भन्दै समय बित्ने र मंसिर पौषदेखि बल्ल पार्टी गतिविधि सुरु हुँदा राप्रपा कार्यकर्ताले पार्टी संगठनलाई बिर्सिसक्ने छन् भनी सहभागीले तर्क गरेका नेता गिरीले बताए । लोकतान्त्रिक संवाद समूहका अधिकांश सहभागी हरुले पार्टी नेतृत्वले अविलम्ब यसतर्फ विचार गर्ने छ भन्ने विश्वास लिइएको अभिव्यक्ति दिएका थिए ।

छलफलमा राप्रपा नेता एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटा, उदयपुर, मोरङ, सुनसरीलगायत प्रदेश १ का विभिन्न जिल्लामा पार्टीका कार्यकर्ता एवम् सरकारी जिल्ला निकायहरुसँग सम्पर्क गरी कोरोना भाइरस संक्रमणको अवस्थाबारे विस्तृत जानकारी लिइएको अवगत गराएका गिरीको भनाई छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अन्तर्वार्तामार्फत् आमसञ्चारमाध्यमप्रति गरिएको अपमानबारे पनि लोकतान्त्रिक संवाद समुहमा गम्भीर रुपमा छलफल भएको र वर्तमान सरकारको आलोचनात्मक समर्थन गरिने निचोड निकालिएको बताइएको छ ।