तरङ्गित नहुन बास्कोटाको आग्रह

तरङ्गित नहुन बास्कोटाको आग्रह


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवम् पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले विकसित राजनीतिक घटनाक्रमलाई लिएर तरङ्गित हुन आवश्यक नरहेको बताउनुभएको छ ।

आज सोमबार (८ वैशाख) सरकारले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्ने निर्णय गरेपछि मुलुकमा अचानक राजनीतिक तरङ्ग पैदा भएको छ । संशोधित कानूनी व्यवस्थाअनुसार कुनै राजनीतिक दल विभाजन हुन पार्टीको केन्द्रिय समिति या संसदीय दलमध्ये कुनै एकमा चालिस प्रतिशत भए पुग्नेछ ।

यसअघि कुनै पार्टीबाट कोही अलग हुन चाहेमा उक्त पक्षले संसदीय दल र केन्द्रिय समिति दुवैमा चालिस प्रतिशत पुऱ्याउनुपर्ने कानूनी ब्यवस्था थियो । अध्यादेश जारी भएपछि नयाँ कानून सक्रिय हुनेछ ।

सरकारले अचानक यसरी अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धी कानून (दोस्रो संशोधन) संशोधन गर्नुलाई विश्लेषकहरूले अनेक अर्थ लगाएका छन् ।

कसैले विपक्षी दलहरूको विभाजनलाई सहज बनाउन कानून संशोधन गरिएको ठानेका छन् भने कतिपयले चाहिँ प्रचण्डको बहिर्गमनलाई सजिलो बनाइदिएको पनि ठानेका छन् ।

यसै सन्दर्भमा युवा नेता गोकुल बास्कोटाले भने ट्वीटमार्फत् तरङ्गित नहुन आह्वान गर्नुभएको छ । बास्कोटाले ट्वीटमा लेख्नुभएको एउटा वाक्यले भने अनेक अर्थ दिएको छ ।

उहाँले लेख्नुभएको छ– ‘राजनीतिक बजारमा भाइरल खबर मैले बुझेसम्म साधारण विषय हो । दलहरू कानूनले भन्दा बढि दर्शनमा आधारित सिद्धान्त, विचार, उद्देश्यसहितको संगठनात्मक तथा भावनात्मक प्रणालीमा एकताबद्ध भएका हुन्छन् । तसर्थ तरङ्गित हुन आवश्यक ठानिनँ मैले त !’