अफगानी राष्ट्रपति कार्यालय प्रवेश गऱ्यो कोरोना

अफगानी राष्ट्रपति कार्यालय प्रवेश गऱ्यो कोरोना


अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । सरकारी उच्च अधिकारीहरूले नाम सार्वजनिक नगर्ने सर्तमा राष्ट्रपति कार्यालयका कम्तीमा २० जना सङ्क्रमित भएका खुलासा गरेको एपीले जनाएको छ ।

सङ्क्रमण भएकाहरूसँग राष्ट्रपति अशरफ घानीको सम्पर्क भएको थियो कि थिएन भन्ने बारेमा एकिन नभएको उनीहरूको भनाइ छ ।

राष्ट्रपति कार्यालयका कर्मचारी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयमा राष्ट्रपति कार्यालयले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

क्यान्सर रोगबाट पीडित ७० वर्षीय घानी कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।

अफगानिस्तानमा सोमबार (२० अप्रिल) सम्म ९९३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । उनीहरू अधिकांश विदेशबाट आएकाहरू रहेका छन् । अफगानिस्तानका झण्डै दुई लाख नागरिक पछिल्लो दुई महिनामा इरानबाट स्वदेश फर्किएका थिए ।

उनीहरू आएको देश इरान कोरोनाभाइरसबाट अत्यधिक प्रभावित देशमा पर्दछ । इरानमा अहिलेसम्म ८२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढीको मृत्यु भएको छ ।