अध्यादेशप्रति असहमति जनाउँदै सभापति देउवाद्वारा ‘तत्काल फिर्ता लिन’ आग्रह

अध्यादेशप्रति असहमति जनाउँदै सभापति देउवाद्वारा ‘तत्काल फिर्ता लिन’ आग्रह


सरकारले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति प्रकट गर्नुभएको छ ।

सोमबार (८ वैशाख) साँझ एक वक्तव्य जारी गरी सभापति देउवाले दुवै अध्यादेशप्रति कांग्रेसको गम्भीर असहमति रहेको जानकारी गराउनुभएको हो । वर्तमान परिवेशमा अध्यादेश असान्दर्भिक भएको टिप्पणी गर्दै उहाँले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाको विज्ञप्तिमा भनिएको छ– ‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबैखाले विमति र आग्रहहरुबाट माथि उठेर कांग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो ।’

संविधान निर्माण गरिंँदा राजनीतिक स्थिरताको बन्दोबस्त गरिएको र सँगै संवैधानिक नियुक्तिमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराउँदै उहाँले यस घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतार–हतार गरिएको प्रमाणीकरणले यी सबै व्यवस्था उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

ती अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै सभापति देउवाले कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारसँग आग्रह गर्नुभएको छ ।

ज्ञातव्य छ, अध्यादेशबारे सभापति देउवाको आधिकारिक विज्ञप्ति जारी हुनुअघि नै काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारद्वारा जारी अध्यादेश बेमौसमको बाजा भनी टिप्पणी गर्नुभएको थियो ।