अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ट्वीटले यतिबेला सर्वाधिक चर्चा र चासो जगाएको छ । सोमबार (२० अप्रिल) उनले कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको ‘आप्रवासन भिसा’ अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्वीटमार्फत् बताएका थिए ।
‘अदृश्य दुश्मनबाट आक्रमणका साथै हाम्रा महान अमेरिकी नागरिकहरूको रोजगारी जोगाउनु पर्ने परिस्थिति उत्पन्न भएका कारण संयुक्तराज्य अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा म हस्ताक्षर गर्दैछु’- ट्रम्पको ट्वीटमा भनिएको छ ।

कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै विवरण प्रस्तुत गरेका छैनन् । ह्वाइट हाउसले पनि राष्ट्रपतिको ट्वीटमा गरिएको घोषणाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।
ट्रम्पले कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेका चीन र युरोपेली मुलुकहरुबाट अमेरिकातर्फ हुने यात्रालाई प्रतिबन्ध लगाइएको बारेमा श्रेय लिएका छन् । उनले यी प्रतिबन्धहरुले अमेरिकामा कोरोनाभाइरसको फैलावटमा सुस्तता आएको दाबी गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले महामारीका कारण आप्रवासी भिसालगायत प्रायः सबै भिसा प्रक्रिया हप्तौँदेखि स्थगित गरेको छ ।
प्रतिक्रिया