■ ज्ञानमणि भुर्तेल
अचानक रुघाखोकी लाग्यो । कताकता सास फेर्न समेत असजिलो भएपछि कोरोना त्रासका कारण अस्पताल जानुपऱ्यो भनेर सरकारले राहतका लागि टिपाएका नम्बरमा फोन गर्दा कुनै पनि नउठेपछि राहत वितरणमा ब्यस्त होलान् भन्ने सोचेर बाटोमा निस्केँ । कुनै सवारी साधन छैन । सुनसान सडक । छेउको लौरो टिपेँ । सरकार भन्दा त्यै भरपर्दो लाग्यो । उसैको सहारामा अस्पताल हिडेँ ।
अचम्म !
मेची अञ्चल अस्पताल हिँडेको म त घोडामाराको बाटो हुँदै धुलाबारी चोक पो पुगेछु । अस्पताल हिँडेको बताएँ । पुलिस पनि ‘प्रहरी मेरो साथी’ नै परेछ, अस्पताल लानुको साटो गोलो घेराभित्र पो हाल्दियो । के थाहा ? उपचार विधि नै होला भन्ठानेर चुप लागेँ । अरु उपाय पनि थिएन । तीन घन्टा ठिङ्याएपछि ‘घर जा’ भन्यो । छक्क परेर सोधेँ– ‘म निको भएँ त ?’
‘चुप !! बाठो हुन्छ्स् ?’– मेरो साथीले डन्डा देखायो ।
भाग्दाभाग्दै पानीटेन्की पुगिएछ । बोर्डर आइहालियो अब सिलिगुडी जँचाउन जानुपरो भनेको त उताको पुलिस झन् ठूलो साथी पो निस्क्यो ! नेपाली हो भनेपछि यतै फर्काइदियो । बाटोबाट आउँदा फेरि गोलघर पस्नुपर्ने डरले मेची किनारैकिनार कुँदेको, भोकको सुरमा अस्पताल कटेर नगरपालिका पो पुगिएछ ।
ओहो ! क्या मज्जा ? राहत वितरण पो रैछ । गरिवको सरकार ! गरिवकै नगरपालिका ! गरिवकै हित गर्ने मेयर !! गरिवका लागि भोजन ब्यवस्था !! भोकको सुरमा पलेँटी कसेर दन्काइयो, भोको पुरेतले सराद्धे खाएझैँ ! कसैले पार्टी पनि सोधेन, जातधर्म कसलाई भोट हालिस् ? बिना भेदभाव !! सबै समान !! वाह !! यस्तो पो राहत त !
भोजन ग्रहणपछि छेउको चाउचाउको कार्टुन ओछ्यान लाएर आराम फर्माएपछि लागियो अस्पताल ! गेटैमा डाक्टर भेटिए । चेस खेल्दै रैछन् । लक्षण बताउनेवित्तिकै टाउको पनि नउठाई धरान रेफर गर्दिए । ठिकै छ ! सरकारी अस्पताल ! ! भनेको मान्नैपऱ्यो । लागियो धरान उड्ने कार चढेर ! हतार छ चाँडो कुदा भनेको ड्राइभर आत्तिएर झण्डै दमकको भ्यु टावर जोतेको, जसोतसो धरान पुगियो ।
कोरोनाको शंकाले आ’को भन्नेबित्तिकै पालेले गेटबाटै काठमाडौं जाने उर्दी जारी गऱ्यो ! डाक्टर भेट्छु भन्दा ‘डाक्टरले भन्ने पनि यै हो, गेट कुर्दाकुर्दा म पनि डाक्टर जत्तिकै भैसकेँ’ भन्छ बा !
हरे शिव ! मानमाथि भुक्तमान ! साथमा भएको खाजासामल पनि सकियो ! काठमाडौं जाने खर्चसमेत छैन ! तरकारी बेच्ने ठेला भेटियो उसैलाई भनसुन गरेर चतरा पुगियो । जसको कोही हुँदैन उसको उखान अन्कल हुन्छ सुनेको थिएँ, ठ्याक्कै मिल्यो । उखान अन्कलकै पानीजहाज भेटियो ! ड्राइभरलाई गएर ‘उखान अन्कलको साथी हुँ’ भनेको त उ निकैबेर हाँस्यो, ज्यान गए पत्याएन !!
‘यस्तो लिखे पनि कसैको साथी हुन्छ ? त्यसमाथि उखान अन्कलको रे !’ ओठ लेप्ऱ्यायो ! पहिले मजस्तै थिए अहिले पो यस्ता भए त भनेर पुरानो फोटो देखाएपछि आधा पत्याए जस्तो गरेर एउटा चिट दियो- ‘M 3’ लेखेको ! सिट पत्तै लाउन सकिएन, पछि पो बुझियो ! मुढामा बस्ने रैछ… तीन नम्बर मुढा ! मुढामा बसेर अर्काको सिटमा टाउको अड्याएर मस्त निदाएछु ! दोलालघाट भनेर खलासी चिच्याउँदा पो बिउँझिएँ ! उकालो चढ्दै थिएँ, बालुवाटार जाने मेट्रो लागेको रैछ ! फेरि उही भजन ‘उखान अन्कल साथी ! गाउँले ! झापाली !’ त्यहाँ पनि सिट नै पाइयो ! भागते भुतका लङोट सही !… पुगियो बालुवाटार !
ओहो ! के हो यो ? अकल्पनीय प्रगति !? बालुवाटार पुूरै प्लटिङ ! गगनचुम्बी महल ! भब्य सपिङ मल ! नाम पनि फेरिएछ ‘विष्णु कोलोनी’ रे । सोचेँ– ‘राम्रै भएछ ! मानव कल्याण खातिर बिष्णु भगवान स्वयं आउनुभएछ !’ मनमनै पुकारा गरेँ– प्रभु रक्षा गर ! भित्र पस्न मन लाग्यो ! गेटमा स्वर्ण अक्षरको बोर्ड देखियो– ‘कुकुरदेखि सावधान !’ मान्छे बस्ने ठाउँमा के लेखेको होला ? पालेलाई सोधेको ! केही बोलेन ! ब्यंग्यात्मक मुस्कानका साथ अजिव नजरले हे ऱ्यो मात्र मलाई । जे होस्.. भित्र पसियो ।
कस्तो मनमोहक दृश्य ? केही समयअघिको रानी पोखरीको रंगिन पानीको फोहराको झझल्को आयो ! शेष नागले समेत वर्णन गर्न नसक्ने समृद्धि ! यो शेषनाकले सक्ने कुरै भएन ! घुम्ने रहर मेटिएन । के ठेगान फेरि यस्तो स्वर्ण मौका आउला–नआउला ? घुम्दै जाँदा भब्य सिनेमा हल देखियो ! पोस्टर देखियो– तीन वर्षदेखि चलिरहेको छ नेपाली कथानक चलचित्र ‘नकच्चरो’ !
गेटकिपरलाई सोधेँ– भाइ ! कसो सिनेमा हौ तीन वर्षदेखि चलिरहेको ? को–को छन् हिरो–हिरोइन ??
‘हाम्रै मन्त्रीहरू छन् सबै’
‘लौ ! मन्त्री पनि कलाकार ? ए भाइ ! लौन गेट खोल्देउ ! मलाई त हेर्न मन लाग्यो !’
‘हुँदैन अब ! पाँच घन्टाको सिनेमा तीन घन्टा त सकियो ! अब के बुझ्नु र हेर्नु ?’
‘झापाबाट आको ! बिरामी छु ! ! केहो–केहो मर्ने–बाँच्ने ठेगान छैन ! फेरि फेरि हेर्न पाइएला कि नाइँ ! लौ न भाइ प्लिज… !’
मेरो रागले काम गऱ्यो ! झापाली गीत पो त !
अँध्यारोमा छामछाम छुमछुम गर्दै कुनाको सिटमा बसे ! कतिबेला सुरु भो ? के–के कथा हो ? कति फाइटिङ छुट्यो ? कति गाना छुट्यो ? के हो के हो ? छेउछाउ नजर लाइयो ! हरेक दर्शकको पछाडि एक–एक आर्मी पुलिस देखेपछि कुरो बुझियो– सबै मन्त्री आफुले खेलेको सिनेमा हेर्न आएका रैछन् । कोही ताली बजाउने ! कोही सिट्ठी बजाउने ! कोही खैनी मोल्दै ! कोही अर्कोसँग पानपराग माग्दै ! एकअर्काँग छिल्लिँदै इत्रिँदै ! बिन्दास माहोल ! उहिल्यै साथीहरूसँग थर्ड क्लासमा बसेर ‘बेसरम’ भन्ने हिन्दी सिनेमा हेरेको सम्झना आयो !
अब पर्दातिर ध्यान गयो ! कलाकारहरू लहरै लाइन लागेर कतै जाँदैछन् ! बाटोमा एउटा बोरा भेटिन्छ ! सबै टक्क अडिन्छन् ! बमको त्रासले केही आतङ्कित ! केही सामान्य ! ०५२ का नायकले कुरो बुझेर आफ्नो सहनायकलाई आँखा सन्काउँछन् ! सहनायक सुपरमेन स्टायलमा उडेर बोरा आफ्नो कब्जामा लिन्छन् !! उनले बुझे द्वन्द्वकालको आर्जन त्यस बोरामा छ, तर ०२९ का कलाकार अल्मलिन्छन् ! के हो बोराको रहस्य ?
रहस्य खुल्छ ! बोरामा रुपैयाँ छ ! भागबण्डाको कुरो निस्किन्छ । ०५२ का कलाकारको तर्क– ‘आफ्नो कमाई भएकोले भाग लाउनु पर्दैन !’ ०२९ का कलाकारको तर्क– ‘अब दुबै समयका कलाकार एकै रंगमन्चमा मिलेर सिनेमा खेल्ने भएपछि सुटिङका क्रममा भेटिएको सबै माल भाग लाग्नु पर्छ !’ द्वन्द्व सुरु ! ग्याङ्ग फाइट ! ! बोरा तानातान ! ! ! कोही बेला ०२९ को हातमा कोही बेला ०५२ को हातमा । मानौँ बोरा बोरा नभएर बास्केटबल हो ! दुबै पक्ष आफ्नै हात पार्ने दाउमा ! तानातानकै क्रममा बोरा ढलमा ।
केहीबेर सन्नाटा… चकमन्न !
गन्दे ढल ! बोरामा पैसा !
महादेवको तेस्रो नेत्र खुल्छ ! सबै कलाकार ढलमा ! बोराको पछि–पछि !! कलाकारको हुटिङ आ–आफ्नो पक्षमा ! ! साइँसाइँ र सुइँसुइँ ! ताली सिट्ठी ! जोशमा आफू पनि मुखमा औंला घुसारेर सिट्ठी बजाउन पुगेछु !
झसङ्ग भएर बिउँझेछु ! साथीले मर्निङ वाक जान फोनको घण्टी बजाएको रै’छ !
छ्या ! कस्तो नकच्चरो सपना ? रोग जचाउन अस्पताल हिँडेको मान्छे ! कता पुगेको ?? काम कुरो एकातिर… भनेझैँ । सपना पनि नकच्चरो ! सिनेमाको नाम पनि नकच्चरो रे ! अनि पैसा भनेपछि आचि मिसिएको ढलको पनि टिप्ने, कस्ता नकच्चरा कलाकार ?? अनि सबै कुरो नकच्चराले भरपुर सिनेमा हेर्ने म कस्तो नकच्चरो ?? सबैतिर नकच्चरो माहोल हाबी !
घुमेर आएर थचक्क बसेर सोचेँ– ‘यो सपनाको फल के होला ? कस्तो होला ? शुभ–अशुभ के होला ?? ज्योतिषको सल्लाह लिन फोन गर्ने विचार गर्दै थिएँ ! रेडियोमा समाचार आयो– सरकारले सुकुम्बासी आयोग गठन गरेछ ! ! !
कोरोना जचाउन अस्पताल हिँडेको मान्छे काठमाडौं पुगेर सिनेमा हेर्न पसेको नकच्चरो सपना देख्नु र सरकारले आयोग गठन गर्नुको फल के होला ??
ज्योतिषलाई सोध्नु जरुरी छ त ?
प्रतिक्रिया