‘लकडाउन जारी राखिने, सीमामा थप कडाई गरिने’

‘लकडाउन जारी राखिने, सीमामा थप कडाई गरिने’


प्रदेश सांसदहरुसँग बिहीबार पनि प्रधानमन्त्रीले छलफल गर्ने

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने तीन प्रदेशका सांसदसँग बुधबार (१० वैशाख) अध्यादेश र बन्दाबन्दी विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै जानकारी दिएअनुसार अध्यादेश ल्याउनु सरकारकोे नियमित र सामान्य काम भएको हुँदा यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन । यही कुरा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानदेखि शुरु भएको सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर १ र वाग्मती प्रदेशका सांसदसँगको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रष्ट पारेका थिए । संसद् नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु सामान्य प्रक्रिया भएको प्रधानमन्त्रीको भनाई थियो ।

प्रेस सल्लाहकार थापाकाअनुसार प्रधानमन्त्री ओलीले सांसदसँगको ब्रिफिङमा अध्यादेश पार्टी फुटाउनका लागि नभई सबै दलका लागि ल्याइएको स्पष्ट पार्दै यसमा कुनै किसिमको भ्रममा नपर्न आग्रह गरेका थिए ।

संवैधानिक आयोग पदाधिकारीविहीन भएकाले तिनलाई कामकाजी बनाउनका लागि अध्यादेश ल्याइएको र सहमतिका लागि निकै प्रयाससमेत गरिएको प्रधानमन्त्री ओलीले ब्रिफिङमा जानकारी गराएका थिए भने आफ्ना प्रदेशमा लकडाउनका कारण समस्या भएको भए जानकारी गराउन सांसदसँग प्रधानमन्त्रीले आग्रहका साथ कोरोना भाइरसबाट खतरामुक्त नभएसम्म यसलाई निरन्तरता दिइने र सीमामा अझ कडाइ गरिने योजनाबारे अवगत गराए ।

बताइएअनुसार बिहीबार (११ वैशाख) बाँकी प्रदेशका सांसदसँग प्रधानमन्त्रीको ब्रिफिङ हुनेछ । सोअनुसार प्रदेश नं २ सँग बिहान १०ः३० बजे, प्रदेश नं ४ सँग अपराह्न ३ बजे, प्रदेश नं ५ सँग अपराह्न ४ः३० बजे र कर्णाली प्रदेशका सांसदसँग साँझ ६ः०० बजे छलफल हुने तय भएको छ ।

pict: rss