मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना सङ्क्रमण

मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना सङ्क्रमण


मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

उनीहरु मुम्बईको भाटिया अस्पतालका कर्मचारी भएका र उनीहरु सबैको उपचार सोही अस्पतालमा भइरहेको एएनआईले जनाएको छ । तीमध्ये पाँचजना नर्सलाई भने आइसियुमा राखेर उपचार गरिएको बताइएको छ ।

ती सबैको स्वास्थ्य अवस्था हाल खराब नरहेको भाटिया अस्पतालले बुधबार (२२ अप्रिल) प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पनि सो अस्पतालका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । उपचारपछि घर फर्किएका उनीहरुलाई पनि होम क्वारेन्टिनमा राखिएको छ ।

बुधबारसम्ममा महाराष्ट्र राज्यमा मात्र कोरोनाका पाँच हजार २२९ जना कोरोना सङ्मित भेटिएका छन् । उक्त राज्यमा मात्र कोरोना सङ्क्रमणबाट २५१ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्राप्त समाचारमा दुई दिनभित्रै सङ्क्रमणबाट १९ जनाको ज्यान गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्मितको सङ्ख्या निकै बढ्दै गएको छ । कोरोनाका सङ्मित थपिँदै गएपछि सरकारले पनि बढी सतर्कता अपनाएका समाचार आइरहेका छन् ।