अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना राष्ट्रपति ट्रम्पले गरेका छन् ।
‘उहाँ सिकिस्त बिरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केवल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु’– ट्रम्पले भनेका छन् । किमसँग आफ्नो निकै राम्रो सम्वन्ध बन्दै गएको पनि उनले बताएका छन् ।
अमेरिकी गुप्तचर निकायका अधिकारीले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको एएनआईले जनाएको छ ।
उत्तर कोरियाका नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित रहेपछि उनको स्वास्थ्यबारे चासो र अनेक अडकलबाजी शुरु भएको थियो । त्यसको चार दिनअघि उनी एउटा सरकारी बैठकमा भने देखिएका थिए भन्दै गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम बिरामी भएको अहिलेसम्म पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् ।
योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होइन ।
उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकाले पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन सक्दैन, जसले गर्दा बेला–बेलामा सूचनाप्रतिको अन्यौलता सृजना हुने गर्दछ ।
प्रतिक्रिया