दल दर्ता गर्न किन हतारिए राजपा–समाजवादीका नेताहरू ?

दल दर्ता गर्न किन हतारिए राजपा–समाजवादीका नेताहरू ?


निकै अघिदेखि पार्टी एकताको प्रयासमा रहेका राजपा र समाजवादी पार्टीलाई अन्ततः केपी–सरकारले ल्याएको अध्यादेशले ‘आकस्मिक एकता’ गराइदिएको छ । आफूहरूलाई ‘प्रधानमन्त्री केपी ओलीले विभाजित तुल्याउने प्रयास गरे’ भन्ने बुझाइमा पुगेका (पुऱ्याइएका) दुई मधेसकेन्द्रित दलहरू फुटका अनेक प्रकरणलाई ढाकछोपको यत्नसहित रातारात दुई दल एकीकरण गर्ने निचोडमा पुगेका छन् ।

बुधबार अबेर राति नाटकीय रूपमा एकता घोषणा गरी यतिबेला ‘जनता समाजवादी पार्टी’ नाम दिएर एकीकृत पार्टी दर्ताका लागि निवेदन दिन सम्बन्धित दलका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

राजपाका नेता राजेन्द्र महतो र समाजवादीका पार्टीका उपेन्द्र यादवसहितका थुप्रै नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार एकीकरणपश्चात दल दर्ताका लागि उनीहरूले आयोगमा निवेदन दिइसकेका छन् भने आयोगले आवश्यक कागजात छानविन गरी ४५ दिनभित्र दल दर्ताको प्रमाणपत्र प्रदान गर्नेछ ।

यसअघि समाजवादी पार्टीका नेता रेणु यादवसहित केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई विफल बनाउनका लागि हतारसाथ नयाँ दल दर्ता गर्न राजपा र समाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका अनुमान गरिएको छ ।

सरकारले दल विभाजनका लागि खुुकुलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेलगत्तै समाजवादी पार्टी विभाजन हुने निश्चित मानिएको थियो । तर, पछिल्लो चरणमा तीव्र गतिका साथ दुवै दलका नेताहरू चलायमान भएपछि नयाँ–नयाँ परिघटना देखिएका छन् भने नेपालको सत्ता–राजनीति पनि एक रोचक तथा नयाँ मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ ।