‘बिरामी’ किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश

‘बिरामी’ किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाएका छन् । बुधबार (२२ अप्रिल) एक पत्र पठाउँदै नेता किमले धन्यवाद ज्ञापन गरेका उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्ना हजुरबुबाको जन्मोत्सवका अवसरमा बसर अल–असदले शुभकामना सन्देश पठाएकोमा उनले धन्यवाद सन्देश पठाएका हुन् । उनका हजुरबुबा किम इल सुङको गत बुधबार १०८औँ जन्मजयन्ति हो ।

आफ््नो धन्यवाद सन्देशमा दुई देशबीचको सम्बन्ध थप बलियो र राम्रो हुँदै जाने विश्वास व्यक्त गरिएको सिन्ह्वाले जनाएको छ । बताइएअनुसार उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गरेका छन् ।

सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त बिरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उनले धन्यवाद सन्देश पठाएको खबर आएको हो ।

उनी बिरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चारमाध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर बिरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।