भारतमा ‘कोविड-१९’बाट ७१४ को मृत्यु, संक्रमितको संख्या २३ हजार नाघ्यो

भारतमा ‘कोविड-१९’बाट ७१४ को मृत्यु, संक्रमितको संख्या २३ हजार नाघ्यो


भारतमा गएको २४ घन्टायता एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको जनाइएको छ ।

शुक्रबार (२४ अप्रिल) बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७१४ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार हाल भारतमा १७ हजार ६१० कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको त्यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको र महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको बताइएको छ ।

यसैबीच महाराष्ट्रमा २८३ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।

महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ सक्रमित रहेका छन् । संक्रमित मध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ ।

गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ११२ को ज्यान गएको छ । यसैबीच २५८ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याइएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।