राष्ट्रपतिबाट अध्यादेश खारेज

राष्ट्रपतिबाट अध्यादेश खारेज


गत सोमबार स्वीकृत गरिएका दुई अध्यादेश राष्ट्रपति विद्या भण्डारीले आज (१२ वैशाख) खारेज गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुई अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले अध्यादेशहरु खारेज गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ राष्ट्रपतिबाट खारेज भएको हो ।

ज्ञातव्य छ, दुबै अध्यादेश गत सोमबार (८ वैशाख) नै राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । अध्यादेशको विरोधमा आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुष्टि प्रकट गरिएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।