अपहरण शैलीमा सांसद् उठाउनेलाई कारवाही गर्न कांग्रेस प्रवक्ताको माग

अपहरण शैलीमा सांसद् उठाउनेलाई कारवाही गर्न कांग्रेस प्रवक्ताको माग


लकडाउन उल्लंघन गर्दै सांसद् अपहरण गर्ने कार्यमा संलग्न पात्रहरुमाथि कारवाही गरिनुपर्ने नेपाली कांग्रेसका नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

सरकारले विवादास्पद अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई उन्मुक्ति दिन नमिल्ने जनाएका हुन् ।

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको प्रतिक्रिया दिँदै नेता शर्माले अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्न भएकाहरुलाई पनि कारवाही गर्न माग गरेका छन् । आफ्नो एक ट्वीटमार्फत् उनले अपहरण शैलीमा संलग्नहरुलाई कारवाहीको प्रतीक्षामा देश रहेको र अबको सम्पूर्ण ध्यान कोरोना नियन्त्रण एवं रोकथाममा लगाउन आग्रह गरेका छन् । पहिले नागरिकको ज्यान जोगाऔँ, फुर्सदमा राजनीतिक विवाद गर्दै गरौँला भन्ने उनको धारणा छ ।