कि देश फेरिन्छ

कि देश फेरिन्छ


■ अभय अधिकारी, अनामनगर (काठमाडौं)

बाबा ल्याँटी सुकाउँदै थिए । पत्रकार आँत्तिदै पुग्यो – हो न हो हिन्द महासागर उर्लेर सगरमाथा डुबाउन लागेको हो या यस्तै खालको आश्चर्यजनक कुरा बोकेर बौलाएको हो ।

बाबा प्रातःकालीन चर्यामा लागे । उपासना, आराधना, पूजा, व्यायाम, प्राणायाम, योगासना जप आदि सबै सकेपछि नै जनसम्पर्कमा बस्ने गर्थे । आज अलिक हतार गरेर पुगेको पत्रकारलाई खासै महत्व नदिएर आफ्नै लगनमा बाबा प्रवृत्त हुन पुगे, जसरी कोरोनाको महामारीमा परेका नागरिकको समस्यालाई वास्तै नगरी नायक आफूखुसी आत्मरति लिने गर्थ्यो ।

‘बस, आज चाँडै आयौ कुनै विशेष … ?’ बाबाले बल्ल वाणी खोले ।

‘बाबा’ भर्खरै अध्यादेश आए नि । देशभर तहल्का मच्चिएको छ । राष्ट्र कामेको छ ।

‘सुनें’, सुशीलाका, राधेश्यामका र दिनेश त्रिपाठीका भनाइ पनि सुनेँ । विज्ञ–विशेषज्ञको कमी थिएन । मोहन बन्जाडे या विष्णु… वा अरु कसैलाई नै एक बचन सोधेको भए हुन्थ्यो । तिनले अपथको यात्रा गर्ने सल्लाह दिने थिएनन् । धामी पनि आफैं, झाँक्री पनि आफैं हुँदा भिरालो बाटो आइपरेको हो । तर म तिमीलाई नै सोध्छु – के विधिसम्मत थिएन त त्यो अध्यादेश ? मृत्युशैयामा पुगेका जीवले सक्रिय हुन खोज्दा देखिएको परिणाम होइन र यो ? जसले नायकत्वबाट अवकाश लिए तिनले फेरि फर्केर बारम्बार बाटो थुन्नु, छिर्के लगाउनु आफ्ना मतियारलाई गल्लीबाट लिस्नु चढाउनु, बाह्य शक्तिको हाउ देखाएर धम्काउन खोज्नु हुने थियो र ?

संविधानले दिएको बाटो हिँडेको हैन भने भन चर्चा गरौँ । तिमीले मोहन कोइरालाको ‘ऋतु निमन्त्रण’ पढेनौ ? कुनै पनि ऋतुले अर्को ऋतुको एक दिन पनि एक क्षण पनि भोग्न पाउँदैन । प्रत्येक ऋतुले आफ्नो अवधिभर अखण्ड समय भोग गर्न पाउनुपर्छ । नीति त पशुमा पनि हुन्छ, प्रकृतिमा पनि । गुनी हेर ।

‘बाबा’,अधिकार हो, विधिसम्मत हो भन्दैमा ठाउँ र समयको मर्यादा पनि मिच्ने हो र ? जहाँ पनि जुनुसुकै ठाउँमा पनि आफ्नी सुवासिनीसँग तीर्खा मेट्तै हिँड्न मिल्छ र ?

‘ब..स्’, अहिले तिमी ठीक ठाउँमा आइपुग्यौ । मेरो पनि भनाइ यही हो । जुन कुरा विधिसम्मत थिएन,त्यस्तो कुरा बोकेर हिँड्यौ । समर्थन गऱ्यौ । अपराध गर्ने
अपराधीलाई सुरक्षा दिएर पूजा गर्ने हो र ? विधिको मार्ग उल्लंघन गर्छ भने किन कार्वाही गर्दैनौ ? भन त के ले रोक्यो ? किन रोक्यो ?

पत्रकार नाजवाफ भएर सुन्दै मात्र रह्यो ।

बाबाले थपे – ‘जनताले रोके । आफ्ना नेताले गरेका यावत अपराधलाई जनताले राम्रै ठाने । सामयिक माने । उचित सम्झे । यदि उचित नठानेका भए तिनलाई नांगेझार पार्ने थिएनन् र ? फेरिका लागि उठ्न सक्ने ठाउँ दिन्थे र ? किन्तु जनता खपाउ छन्, संयमी मात्र होइन दुरदर्शी पनि छन् । जनताले चाहे भने भोलि देशको संविधान बदल्न सक्छन् । आजै देशको झण्डा फेरिदिन पनि त सक्छन् तर यो परिवेश नेताले नै दिएका छन् ।’

पत्रकार प्रश्नभावले हेरेर सुन्दै मात्र रह्यो यहाँ पनि ।

‘नेता त आफैं अगाडि सर्दैन, तर पछाडिबाट उत्प्रेरित गर्ने, ठेल्ने या उकास्ने गर्दैछ । ऊ बद्नाम हुन चाहँदैन तर भूमिका खेल्न पछि पर्दैन । ऊ कुटिल बाटो हिंड्छ किन्तु जनता सिधा बाटो मात्र हिँड्छ । जति जनदमन र शोषण गऱ्यो उति नै नयाँ द्वार र निकास सजिलो हुन्छ भन्ने कुरा नेता जान्दछ । त्यसैले मान, तिम्रो नेता घुमाउरो बाटो हिँडेर यो मुलुकलाई पराधीन पार्छ । ऊ यसै संकल्पमा बाँधिएको छ । किन्तु परिणाम सुखद नै होस भन्ने ठान्नुपर्छ ।’

‘बाबा त्यो कसरी ? पराधीन हुनु पनि सुखद कुरा हो र ?’

‘कति राम्रो प्रश्न गऱ्यौ, वाह !

बाबाले खोलुवा दिँदै भने– ‘पहिले तिमी जनताको स्तरबाट सोच, तल्लो तहबाट हेर, जनता जिउधनको सुरक्षा चाहन्छ । यो देशले, यो व्यवस्थाले यो संविधानले जनताको जिउ र धनको रक्षा गर्न सकेको छ–छैन ? उदाहरण या प्रमाण छापाबाट लेउ ।’

‘शोषण अत्यन्तै कठोर छ । ठेक्का वा दलाली तन्त्र, कर्मचारी तन्त्र, व्यापार तन्त्र र न्यायतन्त्रलाई हेर । पानी, कृषि, शिक्षा, उपचार र टेलिफोनबाट परख गर । मिडियाले यी सबैको यथार्थ उजागार गरिसकेका छन् ।’

‘हेर.., जनता पहिले आफू बाँच्न चाहन्छ, जीवन चाहन्छ अनि आफ्नो सम्पत्ति र धर्म जोगाउन चाहन्छ । आफ्नो परिवारको सुरक्षा चाहन्छ । जुन देशले, जुन संविधान, जुन कानुनले ज्यानको, धर्मको, संस्कृतिको, सम्पत्तिको रक्षा गर्छ जनता त्यसैको हुन्छ । त्यसैले सम्झ, देशले झण्डा फेरि पनि त्यहाँका जनताको जीवनमा विप्लव आउँदैन । नयाँ शासकले नयाँ जनतालाई मर्दन गरेर राख्दैन, खुशी पारेर नै राख्छ ।’

नेपाली जनताको उपेक्षा जनमतको तिरस्कार जनताको आर्थिक र शारिरीक शोषण जनअधिकारको हनन भएको हुनाले जनता आजित भएर देशको झण्डा फेर्न र नयाँ देशमा बस्ने सोच बनाउन थालेका छन् । किन्तु यसको यश नेतालाई नै जान्छ । पछि भन्ने र लेख्ने गरिएला– न नेता जनताको अनादर र उपेक्षा गर्थे न जनता देशको विकल्प रोज्थे ।

फेरि बाबाले थपे – पत्रकार तिमीलाई थाहा होला नि, कोरोनाले बच्चाहरुको परीक्षा सकिएपछि प्रश्नपत्र बाहिर आयो । समसामयिक विषयवस्तुलाई लिएर प्रश्न सोधिएको रहेछ–
‘सिक्किम बनाउने हो कि
सिक्किम जस्तो बनाउने
जस्तो बनाउने देश
उस्तै नेता समाउने !’

तर तिमीले यसको स–सन्दर्भ व्याख्या गरेर औचित्य सिद्ध गर्नुपर्छ । र, अहिले सिक्किमका जनता भौतिक र मानसिक रुपले नेपालीभन्दा सुखी छैनन् कि वा १ र, यो पनि बिर्सनु हुँदैन– राजनीतिक व्यक्तिको चिन्तन र चरित्रकै कारण देशको उत्थान र पतन निर्भर गर्दछ ।

र, तिमीले अर्कोपटक आउँदा कति कारणले यै देश राख्ने र कति कारणले यो देश फेर्ने भन्ने कुरा टुंगो गरेर आउनुपर्नेछ । के गरेको भए यो मुलुक सुध्रन
सक्थ्यो र के कारणले थामिन नसक्ने भो यस बारे निर्भय रहेर भन्ने छौँ । ल अहिले जाऊ ।’

बाबाले यस पटक नक्शाली सुल्पा सल्काए र लामो धुँवा फ्याँके ।

पत्रकार यस पटक यो टुक्रा गुन्गुनाउँदै हिँड्यो –
‘स्वप्नमा राज्यको सीमा
श्रीलंकासम्म देख्तछु
ब्यूँझन्छु सपना हैन
साँच्चै पो हो कि ठान्दछु !’

यो पनि हेर्नुहोस्-
कस्को लागि देश थाम्ने ? एक पत्रकारको दुःस्वप्न