कोरोना भाइरसको संक्रमणबाट पेरुमा १७ प्रहरीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पेरुमा १७ प्रहरीको मृत्यु


कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना भाइरसबाट संक्रमित हुन पुगेका १७ जना प्रहरीको मृत्यु भएको छ । सरकारी अधिकारीहरु तथा स्थानीय मिडियाले यससम्बन्धी समाचार सार्वजनिक गर्दै पेरुमा यस हप्ताको सुरुमा नै कोविड–१९ बाट कम्तिमा एक हजार ३०० जना प्रहरीहरु संक्रमित भएको बताएका छन् ।

देशमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै गृहमन्त्रीले राजीनामा दिएपछि नयाँ नियुक्त भएका गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार (२५ अप्रिल) सञ्चारकर्मीहरुसँग कुरा गर्दै देशभर १७ जना प्रहरीको मृत्यु भएको र त्यसमध्ये ११ जना राजधानी लिमाका रहेको जानकारी दिएका छन् ।

पेरुको सरकारी समाचार समिति एन्डिनाले लकडाउनको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रण गर्ने क्रममा ठूलो संख्यामा प्रहरीहरु कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । पेरूमा गत मार्च १७ देखि लकडाउन गरिएको छ ।

गृहमन्त्री रोड्रिगेजले पेरूको प्रहरीका लागि करिव एक करोड ५० लाख अमेरिकी डलर बराबरको मास्क र ग्लोबसमेतका सुरक्षा सामग्री खरिद गर्न बजेट विनियोजन गरिएको जानकारी दिएका छन् भने प्रहरी बलको करिब दुई लाख २० हजार परीक्षणको नतिजा आउन बाँकी रहेको उनको भनाई छ ।

संकटमा खटिने प्रहरीको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो, प्रहरी बल राम्रोसँग सुसज्जित हुनै पर्दछ भन्ने गृहमन्त्रीको भनाई रहेको एएफपीले जनाएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले गरेको गणना अनुसार पेरूमा २५ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित रहेका र ७०० जनाको मृत्यु भइसकेको छ ।