कोरोना भाइरसबाट सङ्क्रमित भई हालै उपचार सम्पन्न गराएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्ने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भई प्रधानमन्त्री जोन्सन काम शुरु गर्न तयार भएका सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।
उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैँ काम गर्न थाल्ने बताएका छन् भने चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको उनको भनाई रहेको एएनआईले जनाको छ ।
प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेर उनी संक्रमणमुक्त भएका थिए ।
सघन कक्षबाट बाहिरिएपछि प्रधानमन्त्री जोन्सनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए । प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।
कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोनाभाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौँ देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।
प्रतिक्रिया