वुहानका सबै अस्पताल कोरोनासङ्क्रमित व्यक्तिरहित

वुहानका सबै अस्पताल कोरोनासङ्क्रमित व्यक्तिरहित


चीनको सबैभन्दा बढी प्रभावित वुहान शहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार (२६ अप्रिल) घर फर्किएका छन् । दिङ थरका ७७ वर्षीय पुरूष चीनको मध्यक्षेत्र हुबेईको राजधानी वुहानमा कोभिड–१९ को सङ्क्रमणपछि निको भएर घर फर्किने सबैभन्दा पछिल्लो व्यक्ति बन्न पुगेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा वुहानले कोरोना भाइरसविरूद्धको लडाइँमा सफलता पाउनुमा वुहान तथा देशका विभिन्न भागबाट त्यहाँ रहेर बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण रहेको बताए । सिन्ह्वाका अनुसार आइतबारको घोषणा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चिनियाँ शहर वुहानको लागि महत्वपूर्ण क्षण बनेको छ ।

चीनको वुहानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या दुई अङ्कमा झरेको लगातार पाँच दिनपछि र हुबेईमा सबैभन्दा बढी दैनिक ५० हजार ६३३ विरामी र वुहानमा ३८ हजार २० विरामीलाई सेवा दिएको ७० दिनपछि राष्ट्रिय स्वास्थ्य आयोगको उक्त घोषणा आएको हो ।

सघन सेवा कक्षका चिकित्सक साङ यूले कोरोना भाइरसमुक्त घोषणा भएको यो दिन वुहानवासी चिनियाँका लागि ऐतिहासिक बनेको उल्लेख गर्दै आफूहरुले यही दिनको प्रतिक्षा लामो समयदेखि गरिरहेको र प्रतीक्षाको घडी समाप्त भएको बताए ।

शनिबारको अन्त्यसम्ममा वुहानमा ५० हजार ३३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ८६९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये निको भएर फर्किनेको सङ्ख्या वुहानमा ९२.३ प्रतिशत रहेको बताइएको छ । हुबेइमा विगत २० दिनयता नयाँ सङ्क्रमित व्यक्ति नभेटिएको र हुबेईमा बाँकी ५० जना कोभिड–१९ सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् ।

आइतबारसम्म मुख्यभूमि चीनमा ८२ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ८०१ जना विरामीको चीनभर उपचार भइरहेको छ । बताइएअनुसार चीनमा ७७ हजार ३९४ सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।