कोरोना भाइरसको महामारीका कारण हाल (२७ अप्रिल) सम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या करिव २ लाख ६ हजार ५५ पुगेको छ भने २९ लाखभन्दा बढि व्यक्ति सङ्क्रमित बनेका छन् ।
कोरोनाको महामारी विश्वभर जारी रहेको बेला यसको उत्पत्ति थलो मानिएको चीनको वुहानका सबै अस्पतालबाट कोरोना भाइरस सङ्क्रमित बिरामीहरू उपचारपछि ठिक भएर घर फर्किएका छन् । वुहानका कुनै पनि अस्पतालमा कोरोनासम्बन्धित बिरामी अब बाँकी नरहेको र चीनभर आइतबार (२६ अप्रिल) कोरोना भाइरसका कारण एकजनाको पनि मृत्यु नभएको पनि जनाइएको छ ।
उता अमेरिकामा अर्थ-व्यवस्थाको खस्किँदो हालतका कारण कोलोराडो, मिसिसिपी, मिनासोटा र टेनेसी राज्यबाट लकडाउन अन्त्य गर्न लागिएको छ भने कोरोनाको चर्को मारमा परेको युरोपेली देश इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टेले टेलिभिजनमार्फत् सम्बोधन गर्दै ‘इटालीलाई माया गर्ने हरेक नागरिकले सामाजिक डिस्ट्यान्स कायम राख्न राख्नुपर्ने’ अभिव्यक्ति दिएका छन् । लकडाउनको अवस्था विस्तारै खुकुल्याएर लगिने भन्द उनले जनतालाई आस्वस्त तुल्याउने प्रयास गरेका छन् ।
यस्तै, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार साँझदेखि पूर्ण स्वस्थ भई डाउनिङ स्ट्रीट पुगेका छन् । आज (२७ अप्रिल)देखि उनी पुनः सरकार आफ्नै कमानमा सम्हाल्दैछन् ।
हाल ८० हजार व्यक्ति सङ्क्रमित रहेका रुसमा भने लकडाउनको नियम पूर्ण पालनामा लापर्वाही देखिएकोले समस्या बढ्न सक्ने आँकलन गरिएको छ ।
यसबीच इजरायलका स्वास्थ्यमन्त्री याकोव लिजम्यानलेपदबाट राजीनामा दिएका छन् । उनमाथि कोरोना भाइरसको सङ्कटसँग लड्न ठिक ढङ्गको रणनीत अख्तियार गर्न नसकेको आरोप लागेको थियो ।
प्रतिक्रिया