कोरोनाको सवालमा अमेरिकाले चीनमाथि गम्भीर जाँच शुरु गरेको ट्रम्पको खुलासा

कोरोनाको सवालमा अमेरिकाले चीनमाथि गम्भीर जाँच शुरु गरेको ट्रम्पको खुलासा


कोभिड–१९ को महामारीबाट विश्वभर आज (२८ अप्रिल) सम्म मृत्यु हुनेको सङ्ख्या करिव २ लाख १० हजार नाघेको छ भने ३० लाख ४० हजारभन्दा बढि व्यक्ति सङ्क्रमित बनेका छन् ।

अमेरिकामा संक्रमित संख्या नौ लाख ८८ हजारभन्दा बढि रहेको र हालसम्म मृत्यु हुनेको संख्या ५६ हजार नाघेको छ ।
यस्तै, स्पेनमा २३ हजार ५०० ले कोभिड–१९ बाट ज्यान गुमाएका छन् भने इटालीमा यो संख्या २६ हजार ९ सय ७७, फ्रान्समा २३ हजार, जर्मनीमा ६ हजारभन्दा ज्यादा रहेको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

यस क्रममा चीनको सबभन्दा ठूलो शहर शंघाईमा बालबालिकाहरू विद्यालय जान शुरु गरेका छन् । विद्यालयको अध्ययन समाप्त गरी विश्वविद्यालय प्रवेश गर्ने क्रममा रहेका छात्रछात्राहरूलाई सरकारद्वारा स्कूल जाने अनुमति दिइएको हो । आगामी जुलाई महिनामा विश्वविद्यालय प्रवेशको परीक्षा हुन लागेको र त्यसको तयारी कक्षाका लागि विद्यालय खुल्ला गरिएको सिन्ह्वाले जनाएको छ ।

यतिबेला चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या जम्मा ८२ हजार ८ सय ३० बाँकी रहेको छ भने भाइरसको उत्पत्तिस्थल भनिएको वुहानमा कुनै बिरामी बाँकी नरहेको सरकारी घोषणा सार्वजनिक भइसकेको छ । तथापि चीनभर सामाजिक दूरी कायम गर्ने नियम भने कायम नै राखिएको छ र स्कुले बालबालिकालाई मास्क लगाउन र दूरी बनाएर बस्न अनिवार्य गरिएको छ ।

उता ह्वाइट आउसमा भएको नियमित प्रेस कन्फ्रेन्सका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको मामलामा चीनप्रति आफू खुशी नरहेको दोहोऱ्याएका छन् । चीनको वुहानमै भाइरस सङ्क्रमणलाई सीमित गर्न सकिने अवस्था रहँदारहँदै उसको लापर्वाहीका कारण संसारभर महामारी फैलिएको आरोप उनले लगाए ।

कैयन स्वास्थ्यविज्ञहरूले समय रहँदै सतर्कता अपनाउन अमेरिका स्वयम् चुकेको बताइरहँदा राष्ट्रपति ट्रम्पले भने चीनलाई नै दोषी तुल्याइरहेका छन् । आफ्नो प्रशासनले कोरोना भाइरससम्बन्धी चीनको प्रतिक्रियालाई लिएर गम्भीर जाँच शुरु गरेको समेत उनले सोमबार (२७ अप्रिल)को प्रेस कन्फ्रेन्समा जानकारी दिएका थिए ।