महामारीको दुष्प्रभाव कम गर्न जापानको यस्तो तयारी

महामारीको दुष्प्रभाव कम गर्न जापानको यस्तो तयारी


– विशेष प्रतिनिधि, टोकियो

कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव कम गर्न जापान सरकारले आपतकालीन उपायहरु अपनाउन संसदमा २ सय ५६ खर्ब ९० अर्ब येन (२ खर्ब ४० अर्ब अमेरिकी डलर) बराबरको पूरक बजेट पेश गरेको छ । सोमबार (२७ अप्रिल) पेस गरिएको बजेटको मस्यौदालाई मन्त्रीपरिषद्ले भने अप्रिल २० मा नै पारित गरेको थियो ।

शुरुमा सरकारले १ सय ६८ खर्ब १० अर्ब येनको पूरक बजेट ल्याउने योजना बनाएको थियो । तर यसअघि योजना बनाएको जस्तो निश्चित स्तरमा आम्दानी घटेको घरपरिवारलाई ३ लाख येन दिनुको सट्टा सबै नागरिकलाई १–१ लाख येन दिने योजना ल्याएपछि बजेटको आकार पनि बढेको हो ।

पूरक बजेट बुधबार (२९ अप्रिल) हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गर्ने अपेक्षा गरिएको छ । उक्त दिन राष्ट्रिय बिदा परेको भए पनि बजेट पारित हुने आशा रहेको बताइएको छ ।

त्यसको भोलिपल्ट हाउस अफ काउन्सिलरबाट समेत अनुमोदन भएपछि सो बजेट लागू हुनेछ ।