आगलागीमा परेर क्यानाडाका प्रधानमन्त्री ट्रुडोकी आमा अस्पताल भर्ना

आगलागीमा परेर क्यानाडाका प्रधानमन्त्री ट्रुडोकी आमा अस्पताल भर्ना


क्यानाडाका प्रधानमनत्री जस्टिन ट्रुडोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण बिरामी परेपछि अस्पताल भनाई गरिएको छ । स्थानीय समयअनुसार मार्गरेटलाई सोमबार राति अस्पताल लगिएको एएफपीले जनाएको छ ।

आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको विपद् व्यवस्थापन अधिकारीहरूले बताएका छन् । तर उनीहरुले प्रधानमन्त्रीकी आमा नै घाइते भनेर चाहिँ खुलासा गरेका छैनन् ।

स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्वप्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौँ दमकल, अग्ला–अग्ला भऱ्याङको प्रयोग गरेका तस्बिरहरू मङ्गलबार बिहानै सार्वजनिक गरेका छन् ।

भवनको पाँचौ तलाबाट आगलागी भएको आगो निभाउनका लागि करिव ७० जना अग्नीनियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया नदिइएको पनि एजेन्सीहरुले जनाएका छन् ।

आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण मार्गरेटको स्वासप्रस्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना भएको रेडियो–क्यानडाले प्रसारण गरेको बताइन्छ । उनलाई छिट्टै आराम हुने अपेक्षा गरिएको पनि समाचारमा जनाइएको छ ।