कोरोना भाइरस सङ्क्रमको महामारीबाट विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या करिव ३१ लाख १५ हजार पुगेको छ भने करिव २ लाख १७ हजारले यसको चपेटामा परेर ज्यान गुमाएका छन् ।
जो हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार अमेरिकामा कोभिड–१९ संक्रमित कुल संख्या १० लाख पार गरेको छ र ज्यान गुमाउनेहरू ६० हजारको हाराहारीमा रहेका छन् ।
यसैबीच न्यूयोर्क–प्रस्बिटेरियन एलेन हस्पिटलमा फ्रन्ट लाइनमा रहेर कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न रहेकी एक डाक्टरले आत्महत्या गरेकी छन् । सो अस्पतालको इमर्जेन्सी डिपार्टमेन्टको मेडिकल डाइरेक्टरसमेत रहेकी डाक्टर लार्ना ब्रीन बिरामीको उपचारका क्रममा आफै कोभिड–१९ बाट सङ्क्रमित भएपछि आत्महत्या गर्ने मानसिकतामा पुगेकी बताइएको छ ।

उनका ४९ वर्षीय बाबु फिलिप ब्रीनले आफ्नी छोरी बहादुरीका साथ बिरामीको उपचारमा संलग्न रहने क्रममा आफै सङ्क्रमित भएको र दुई साता आइसोलेसनमा बसेर उनले रोगलाई जितेको बताएका छन् । यसरी ठिक भएपछि पुनः काममा फर्कंदा अस्पतालले नै उनलाई पुनः घर फर्काइदिएको थियो ।
यता, छिमेकी भारतमा सङ्क्रमित सङ्ख्या ३० हजारको नजिक पुगेको छ र हालसम्म २९ हजार ९ सय७४ जना सङ्क्रमित रहेको र ९ सय ३७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैक्रममा फ्रान्सले आगामी मे ११ देखि लकडाउन केही खुकुल्याउने भएको छ । सार्वजनिक यातायात र विद्यालयहरूमा मास्क अनिवार्य गरेर बन्दाबन्दीलाई हल्का तुल्याउने उपक्रम त्यहाँ शुरु गरिएको छ ।
उता रुसमा ९३ हजारभन्दा धेरै सङ्क्रमित भई ८ सय ६७ जनाको ज्यान गएपछि राष्ट्रपति भ्लादीमिर पुटिनले रुसमा सुरक्षा किट एवम् स्वास्थ्य उपकरणहरू अपुग रहेको स्वीकार गरेका छन् ।
यसैबीच न्युजिल्याण्डमा लगभग पाँच साता घर–घरमा बन्द रही मानिसहरू सामान्य जिन्दगीतर्फ फर्किएका छन् । त्यहाँ लकडाउन करिव–करिव अन्त्य गरिएको छ ।
प्रतिक्रिया