‘लकडाउन’ले बढाएको समझदारी !

‘लकडाउन’ले बढाएको समझदारी !


■ सुशील देवकोटा

यतिबेला चलिरहेको ‘लकडाउन’मा अरु कुरा जे–जस्तो भए पनि एउटा कुराचाहिँ साह्रै राम्रो भयो के ! लकडाउनले गर्दा हामी ‘बुढाबुढी’बीचको प्रेम र समझदारी असाध्यै बढ्यो । पहिला–पहिला मलाई लाग्थ्यो– मेरी बुढी साह्रै कचकचे छिन्, किचकिच गरिरहन्छिन् ! अनि हत्तपत्त उनको छेउछाउ जान पनि मन नलाग्ने, गए पनि यसो पाँच–दस मिनेटभन्दा बढि त मरिजाउँ टिक्नै मन नलाग्ने के !!

धन्न कोरोना, तिमी त इश्वरको रूप नै बनेर आएको रै’छौ भन्न नमिल्ने भएर मात्रै हो, नत्र त यो कोरोना प्रकोपबाट लकडाउन हुनाले बाध्य भएर घरमा बस्नुपर्ने अवस्था आयो । माइलीकाँ यसो टुच्च लाउन समेत जान नपाइने गरी लकडाउन गरिसकेपछि कुरै सकिएन त ? शुरु–शुरुमा त निक्कै डर लागेको थियो । मनै आत्तिएको थियो के ! चौबिसै घण्टा त यी सिँहिनीजस्ती बुढीसँग कसरी बस्नु होला ? कुन बेला, बेला न कुबेला झम्टिन्छे जस्तो लागेको थियो । तर, मेरो सोचाइ गलत सावित भयो । मेरी बुढी कहाँ मैले सोच्या जस्तो सिँहिनी–बघिनी जस्ती रैछिन् त हौ ? उनी त गाई (सिङ भएकी त लेख्दिन है । नत्र मार्छिन् क्या !) नै रैछिन् नि !! साह्रै ज्ञानी, साह्रै समझदार !!

लकडाउन शुरु हुने बित्तिकै उनले बडो मीठो स्वरमा बोलिन् ! उनलाई मीठो गरी पनि बोल्न आउँदोरैछ भन्ने पनि त मैले पहिलो पल्ट थाहा पाएँ नि ! ल हेर्नुस् त लकडाउनको कमाल ! जे होस् , उनले बडो मीठो गरि भनिन्– ‘ए बुढा, लकडाउन छ । गल्लीको कुकुर जस्तो लखरलखर त अब हिँड्न पाउँदैनौ तिमी । अब घरमा बस अनि चट्ट यसो मलाई पनि अलिअलि सघाइदेउ है !’

कम्ता मीठो गरी कम्ता राम्रो उपमा र उदाहरण दिएर कुरा गरेकी थिइनन् त हौ ! त्यै पनि मनको एउटा कुनोमा डर थियो के ! ‘यो बाघ बुढीले मलाई दलाउने भइन् अब’ भन्या जस्तो लागेको थियो । तर उनले फ्याट्टै भनिन् के– ‘नआत्तिउ न, गाह्रो काम जति त म नै गरिहाल्छु नि ! तिमीले त यसो सघाइपघाइ गरिदिने पो त !’

भगवान कसम… सुनेर मेरो आँखा रसायो ! कति माया गरेकी ! कस्तो मनको कुरा बुझेकी ! अनि यस्ती श्रीमतीलाई मैले कचकचे, गनगने अनि खै के के भन्थेँ ! ‘थुक्क म’ भन्ने भाव पलायो भित्रभित्रै ।

उनले फेरि भनिन्– ‘म हुँदाहुँदै तिमीले त्यस्तो गाह्रो काम गर्नु पर्दैन नि ! ल सुन… भोलिदेखि नि ..’ यति भनेर उनले कामको बाँडफाँडको बारेमा सबै कुरा यति राम्रोसँग बुझाइन् कि मलाई लाग्यो यति राम्रोसँग त हाम्रा देशका कुनै अर्थमन्त्रीले पनि बजेटको बाँडफाँडका बारेमा बुझाउन सकेका छैनन् होला ! भोलिदेखि चाहिँ जुन किसिमले कामको बाँडफाँड भएको छ त्यसैगरी गर्ने निर्णय हामीले गर्यौँ ।

भोलिपल्ट बिहानै मेरी प्यारी बुढी उठिन् । पैला उनी नै उठिन् ! म त मज्जाले खुट्टो पसारेर सुतिराथें नि ! अनि थपक्क गएर कुचो समाइन् । आएर कुचोको टुप्पाले मेरो अनुहारमा सुमसुम्याइन् ! लौ ! अनि के त ? अब यो उमेरमा उनले आफ्नो भर्खरै नुहाएको चिसो कपालले मेरो अनुहार भिजाएर उठाउलिन् त ? त्यो पनि त्यो चमरजस्तै सेतो भैसकेको उनको कपाल ! खानामा कहिलेकाहीँ सेतो कपाल भेट्दा त चमर उडेर आयो कि उनको कपाल हो भनेर छुक्किन्छु म । कुरा गर्नुहुन्छ !!

कुचोको टुप्पोले मेरो अनुहार सुमसुम्याएपछि म पनि उठेँ । उनी मुसुक्क मुस्काइन् । अगाडि चारवटा दाँत नभए पनि हिजो त्यस्तो मीठो कुरा गरेकी भएर होला उनको त्यो थोते मुस्कान पनि बडो मीठो लाग्यो मलाई !!

हिजो सहमति गरिएकै थियो– काम त सबै उनैले गर्ने, मैले यसो सघाउने मात्रै । गाह्रो काम उनले गर्ने सजिलो काम मैले गर्ने ! अब त्यहीअनुरूप हाम्रो काम अघि बढ्न थाल्यो । उनले कुचो मलाइ दिइन् । म कुचो लगाउन थालेँ । उनले बडो दुःख गरी–गरी कताकता फोहोर छ भनेर सबै कुनाकाप्चा देखाउन थालिन् । उनले त्यस्तो दुःख गरेको देखेर एकाबिहानै उनीप्रति छपक्कै माया बढेर आयो मेरो मनमा !!

त्यसपछि मैले चिया पकाएँ । तर सत्य धरोधर्म… दिउरेमा पानी त उनैले हालिन् है ! हामी चिया खान थाल्यौँ । त्यसबीचमा उनले टोलभरिका महिला को–कस्ता छन् को–कस्ता छन् सबै जानकारी दिइन्, कसको घरमा आज के पाकेको छ भन्नेदेखि कस–कसको बीचमा के सम्बन्ध पाक्दैछ भन्ने समेत जानकारी गराइन् । मलाई लाग्यो– यत्तिका धेरै ज्ञान बिहान बिहानै मैले कहिल्यै पाएको थिइनँ । म मन्त्रमुग्ध भएर सुनिरहेँ । कुनै सञ्चारमाध्यमले पनि यति विस्तृत रूपमा यति भित्रभित्रसम्मको खबर त ज्यान गए दिन सक्दैन के !! उनी त मेरी बुढी पो ! साँच्चै भनेको, त्यो दिन आफ्नी चाउरी परेकी बुढीमाथि मलाई गर्व लाग्यो !! आफ्नो घरबाट बाहिर पाइलै नटेकी कसको घरमा के पाक्दै छदेखि कसको बुढोले हिजो स्वास्नी कुट्योसम्म थाहा पाउने कस्तो ट्यालेन्टेड के मेरी बुढी ! अनि गर्व नलागोस् त !!

त्यसपछि मैले खाना पकाउने सजिलो काम गरेँ । उनले खाने जस्तो गाह्रो काम गरिन् । मैले भाँडा माझेँ ।
तर हेर्नुस् उनको उदार मन ! उनी मेरो छेउमा बसेर फेसबुक चलाइरहिन् ! कम्ता गाह्रो हुन्छ ? एकोहोरो मोबाइलमा हेर… औंलाले स्क्रीनमा घिसारेको घिसार्यै गर ! हेर्न र भन्न मात्रै सजिलो क्या ! फेरि त्यसमा अरु आइमाईले लगाएको साडी गहना एक एक गरी नियालेर हेर ! त्यसका खराबीहरू पत्ता लगाएर पछिको लागि न्यूज स्टक बनाउ !! साडीको बुट्टामा के नराम्रो थियो । त्यो साडी कहाँ कतिमा पाइन्छ र त्यो लगाउनेले कतिमा किनेको भनेर धाक लगाएकी छे ! कुन साडीचाहिँ अरुले दिएका हुन् । गहना कति तोलाको होला ? आफ्नै होला कि फोटो खिच्न मात्रै कसैको मागेर लगाएको होला ! सबै कुरो त पत्ता लगाउनु पर्छ ! कस्तो गाह्रो छ के ! उनले ठीक भनेकी थिइन् ! गाह्रो काम सबै उनले गर्दै थिइन् ।

दिउँसो खाजा त त्यति धेरै केही खान्न भनेकी थिइन् मेरी प्यारीले । त्यै पनि सोध्ने त मेरो धर्म हो नि ! सोधेँ मैले– ‘के खाजा खान्छौ बुढी ?’ उनले भनिन्– ‘भो–भो धेरै केही बनाउनु पर्दैन । त्याँ आलु छ । त्यो उसिनेर फ्राइ गर्नु । अनि त्यसपछि अमलेट बनाउनु । यसो एकथोक केही अचार बनाउनु । अनि च्यूरा ल्याउनु नि ।’

जाबो त्यत्ति ! कस्तो सन्तोषी बुढी पाएछु ! त्यत्ति त म गरिहाल्छु नि भन्ने सम्झिँदै गएँ भान्सामा । सबै तैयार गरेँ । लगेर उनलाई दिएँ । दाँत फुक्लेका मुख भए पनि बडो आरामले पाकुम–पाकुम गर्दै च्यूरा खाँदै बिहान फेसबुकमा अनुसन्धान गरेको सबै कुरो मलाई एकएक गरेर सुनाएर मेरो ज्ञानको भण्डारमा नयाँ–नयाँ आयाम थपिदिन थालिन् उनले !! मैले आफूलाई धन्य–धन्य सम्झिन थालेँ ।

त्यसपछि फेरि रातिको खाना मैले बनाएँ । उनले मप्रतिको धेरै मायाले होला ठ्याक्कै तीन थाली खाइदिइन् !! अरुको बुढी भए त्यस्तो मायाले खाइदिन्छन् ?? त्यही राति पो मैले अझै राम्ररी बुझेँ कि मेरी बुढीले मेरो कत्ति धेरै चिन्ता र माया गर्दिरहिछन् के ! जब उनले मलाई भनिन्, ‘रातको बेलामा चाहिँ धेरै खाना नखाउ है ! राति अलिअलि हल्का पेट नै खानुपर्छ के !’ मेरी बुढीको मप्रतिको माया छर्लङ्ग देखेँ त्यो राती ! मेरी बुढी त धन्न मैले पाएकै रैछु के !! कस्तो माया गर्ने हौ मलाई । अनि स्वास्थ्यप्रति पनि कति सजग के !! अब त्यो ग्यास निस्किने भनेको त प्राकृतिक कुरो हो र मेरी बुढी पनि रातभरि यो प्राकृतिक कुरो गर्थिन् । अब यति सानो कुरालाई चाहिँ धेरै महत्त्व दिनु हुँदैन क्या !!

त्यसपछि मैले रातिका जुठाभाँडा माझेँ । कोठामा गएर हेरेको मेरी बुढी ओछ्यानमा लडिसकेकी रहिछन् । मैले यसो मनमनै गमेँ– ‘दिनभरी खटेर काम गरेकी, बिचरी ! थाकिन् होला !’ एक मनले त गएर यसो गोडा पो मिच्दिउँ कि जस्तो पनि नलागेको कहाँ हो र ? फेरि सोचेँ– उनको निद्रामा खलल हाल्नु ठीक छैन ।

म बत्ति निभाएर सुत्नै लागेको थिएँ कि मेरी बुढीले बडो प्रेमले बोलाइन्, ‘बुढा, ए बुढा !’
मैले पनि बडो भावुक हुँदै भनेँ– ‘भन मेरी प्यारी बुढी !’
‘देख्यौ त, यस्तो समझदारीले मिलिमिली काम गर्दा कस्तो मजा आउने रैछ त !’
‘हो बुढी, मैले आजै मात्रै पो पाएँ त यस्तो अलौकिक ज्ञान !’
अनि उनले भनिन् – ‘ल ल, अबदेखि सधैं यसरी नै कामको बाँडफाँड गरेर काम गर्नुपर्छ है !! समझदारी भनेकै यही त हो नि !’
मैले पनि प्रेमपूर्वक ‘हुन्छ बुढी’ भनेँ ।
मेरी बुढीले खुइया गरेर लामो स्वास छाडिन् ! बिचरी कस्तो थाकेकी होलिन् नि त !! अब यो लकडाउनभरी चाहिँ यस्तै समझदारी कायम गर्नुपर्ला !! न्यायको सिद्धान्त हाम्रो अदालतहरूबाट हराएको छ भनेर चिच्याएको खुब सुनिन्थ्यो । सबै न्यायको सिद्धान्त मेरी बुढीले बोकेरै बसेकी रहिछन् नि त । अनि कताबाट अदालतमा पाइन्छ त हौ न्याय ? नेपालको मात्रै होइन संसारकै न्यायलयले उनले गरेको कामको बाँडफाँडलाई उदाहरण बनाएर त्यस्तै न्याय गर्नसके कति राम्रो हुन्थ्यो होला !! यस्तै सोच्दै र लकडाउनलाई सत् सत् नमन गर्दै म पनि सुतेँ !

(१५ वैशाख २०७७)