कोरोना नलाग्ने अन्धविश्वासमा विषाक्त रक्सी खाँदा सात सयको मृत्यु

कोरोना नलाग्ने अन्धविश्वासमा विषाक्त रक्सी खाँदा सात सयको मृत्यु


कोरोना भाइरसको संक्रमणबाट जोगाउने अन्धविश्वासमा परेर विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको सङ्ख्या सात सय नाघेको छ । रक्सी सेवन गर्दा कोरोनाले छुन नसक्ने भन्ने भ्रममा परेर अत्यधिक रक्सी सेवन गरेकाको मृत्यु भएको इरानी अधिकारीहरुले जनाएका छन् ।

त्यहाँका सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७ सय २८ जनाको मृत्यु भएको छ । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए ।

इरानमा गत पनि वर्ष विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो । देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवन गरेका थिए ।

इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसाबले मध्यपूर्वकै सबैभन्दा बढी प्रभावित देशमा पर्दछ ।

इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले पाँच हजारभन्दा धेरै व्यक्तिको विषाक्त रक्सीका कारण आँखा खराब भएको थियो र पनि यस्तो रक्सी सेवनमा पूर्णबिराम लागेन । इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौँ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सी सेवन गरेका एएनआईले जनाएको छ ।

विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अङ्गलाई पनि काम गर्न नसक्ने बनाउने गरेको विज्ञहरु बताउँछन् । विषाक्त मदिराका सेवनकर्ताहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षण देखिने गरेको थियो ।

ज्ञातव्य छ, इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । यो सङ्ख्या मध्यपूर्व कै सवैभन्दा धेरै भएको जनाइएको छ ।